काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ मा नेपाली सेनाको व्यवस्थापनमा सञ्चालित राष्ट्रिय प्राथमिकता प्राप्त सडक करिडोर र पूर्वाधार आयोजनाले उल्लेखनीय प्रगति हासिल गरेका छन्। रक्षा मन्त्रालयका अनुसार रणनीतिक महत्वका कोशी करिडोर, कर्णाली करिडोर, महाकाली करिडोर र बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक आयोजना वार्षिक लक्ष्यअनुसार सफलतापूर्वक सम्पन्न भएका छन् ।
यस्तै, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय, चुरे–तराई मधेस संरक्षण कार्यक्रम तथा ‘बङ्कर टु व्यारेक’ अभियानमा पनि अपेक्षित परिणाम प्राप्त भएको छ। तर, राष्ट्रिय गौरवको आयोजना मानिएको काठमाडौँ–तराई/मधेस द्रुतमार्गको प्रगति भने ६७.५ प्रतिशतमा सीमित भएको छ। जग्गा अधिग्रहण र प्रस्थान बिन्दुका विवादले वार्षिक लक्ष्य पूरा गर्न नसकिएको मन्त्रालयले स्पष्ट गरेको छ।
कोशी करिडोरअन्तर्गत खाँदबारी–किमाथाङ्का सडकमा १०.५१ किलोमिटर ट्रयाक खुलाइएको छ भने कर्णाली करिडोरमा घाटपारीचौर–बद्रिगाउँ–भुक्काखोला सडक खण्डका साथै लाँलीबगर–दुल्लीकुनासम्मको ११ किलोमिटर ट्रयाक निर्माण सम्पन्न भएको छ। विभिन्न स्थानमा बेलिब्रिज, सडक चौडाइ विस्तार र नयाँ ट्रयाक निर्माण कार्य पनि सम्पन्न भएको छ। महाकाली करिडोरअन्तर्गत दार्चुला–टिङ्कर सडक आयोजनामा २.३ किलोमिटर नयाँ ट्रयाक निर्माण भएको छ। यसअघि नै १७.५ किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको थियो।
पूर्वाधार निर्माणका क्रममा नेपाली सेनाका १०८ सैनिकले वीरगति प्राप्त गरेका छन् भने २४ जना गैरसैनिकको ज्यान गएको छ। हाल कर्णाली करिडोरमा ४ सैनिक र अन्य आयोजनामा २८ गैरसैनिकले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ। बङ्करदेखि व्यारेक कार्यक्रमअन्तर्गत गत आवमा ७३ संरचना निर्माण भएका छन् भने अझै १,९९५ संरचना निर्माण गर्न बाँकी छ। त्यसैगरी, बनेपास्थित पेरुङ्गेडाँडामा निर्माणाधीन राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको समष्टिगत भौतिक प्रगति ७४.०४ प्रतिशत पुगेको छ र यसलाई निरन्तरता दिने लक्ष्य राखिएको छ।
प्रकृति संरक्षणमा पनि सेनाले सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। गत आवमा मात्र दुई लाख ५४ हजारभन्दा बढी पेट्रोल, ३७ हजार एम्बुस तथा नौ हजारभन्दा बढी आकस्मिक छड्केलगायतका गतिविधि सञ्चालन गरिएको छ। प्रकृति संरक्षणकै क्रममा हालसम्म ११६ सैनिकले ज्यान गुमाएका छन्।










प्रतिक्रिया दिनुहोस्