काठमाडौँ – बीपी राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाउने निर्णय फेरि १५ दिनका लागि थप गरिएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेका अनुसार आजदेखि भदौ १५ गतेसम्म बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म यात्रुवाहक तथा निजी गाडी चलाउन प्रतिबन्ध लगाइनेछ। गत असार ७ गतेदेखि नै जोखिमका कारण रातमा गाडी चलाउन रोक लगाइएको भए पनि सडकको अवस्था अझै सुरक्षित नदेखिएकोले थप अवधि कायम गरिएको प्रशासनले जनाएको छ। काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म रातमा सवारी सञ्चालनमा रोक लागू हुनेछ।
काठमाडौँबाट पूर्वतर्फ छुट्ने गाडीलाई काभ्रेभञ्ज्याङमा रोकिने र विपरीत दिशाबाट आउने सवारीलाई नेपालथोकमै रोक्ने व्यवस्था गरिएको छ। प्रशासनले यात्रु तथा चालकलाई आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरेको छ। गत असोजमा आएको बाढीपहिरोका कारण राजमार्गका विभिन्न स्थानमा सडक बग्दा अस्थायी सडकमार्ग प्रयोग गर्दै यातायात सञ्चालन हुँदै आएको छ। पूर्वी नेपाललाई काठमाडौँसँग छोटो दूरीमा जोड्ने मुख्य राजमार्ग भएकाले दैनिक हजारौँ सवारी साधन यस बाटो प्रयोग गर्ने गरेका छन्।










प्रतिक्रिया दिनुहोस्