काठमाडौं — खटाइएको कार्यस्थलमा नगएका गृह मन्त्रालयका १५ कर्मचारीको हाजिरी काटिएको छ। सरुवा वा पदस्थापन निर्णय भएको एक महिनाभन्दा बढी समयसम्म पनि तोकिएको कार्यालयमा नगएपछि मन्त्रालयले उनीहरूको डिजिटल र रजिस्टर दुवै हाजिरी रोक्ने निर्णय गरेको हो। मन्त्रालयले साउन १५ गते सूचना जारी गर्दै मन्त्रालयमै जगेडामा रहेका ती कर्मचारीलाई २४ घण्टा भित्र पदस्थापित कार्यालयमा हाजिर हुन निर्देशन दिएको थियो। उक्त निर्देशनपछि ७ जना शाखा अधिकृत र १ जना नायब सुब्बा मात्र कार्यस्थलमा पुगेका थिए। उनीहरूमा सुजन शुभ भ्लोन, चिरञ्जीवी जीएम, जानुकाकुमारी पोखरेल, भीमकुमार बस्नेत, न्युटन लम्साल, फर्सुराम भट्टराई, र रेनुकाकुमारी पाण्डे रहेका छन्।
निर्देशन पालना नगरी मन्त्रालयमै बसेका ४ जना नायब सुब्बा र ११ जना शाखा अधिकृतको हाजिरी साउन २० गतेदेखि काटिएको हो। हाजिरी काटिएका शाखा अधिकृतमा मानकुमार बुढा, भागवतप्रसाद रेग्मी, शिला तिमसेना, युगेशकुमार यादव, बाबुराम पन्थी, दलबहादुर बस्नेत, मोहनप्रसाद निरौला, आनन्द विष्ट, सुन्दर बान्तवा, युवराज कट्टेल, खगराज गौतम छन्। नायब सुब्बामा कमल आचार्य, कृष्ण भट्टराई, विष्णु पौडेल, रामबाबु बराल र सुवास पौडेल पर्छन्।
गृह मन्त्रालय प्रशासन महाशाखाका सहसचिव छवि रिजालका अनुसार मन्त्रालय मातहतका कामहरू अत्यन्त संवेदनशील हुने भएकाले तोकिएको स्थानमा समयमै जानुपर्ने आवश्यकता हुन्छ। उनका अनुसार सबैले काठमाडौंमै पोस्टिङ चाहने प्रवृत्तिका कारण समस्या देखिएको हो।
केही समयअघि अध्यागमन विभागमा ४५ जना शाखा अधिकृतको सरुवा भएको थियो। सामान्य प्रशासन मन्त्रालयले नयाँ अधिकृत पठाएपछि तीमध्ये केहीलाई गृह मन्त्रालय र केहीलाई अन्य स्थानमा पठाइएको थियो। तर काठमाडौं बाहिर खटाइएका कतिपय कर्मचारी मन्त्रालयमै बसेका थिए।
स्रोतका अनुसार अहिले मन्त्रालयमा १६ जना उपसचिव र ५ जना सहसचिव जगेडामा रहेका छन्। सहसचिव रिजालका अनुसार केही सहसचिव र उपसचिवलाई आकस्मिक परिस्थितिमा तत्काल खटाउनुपर्ने भएकाले जगेडामा राख्ने प्रचलन छ, तर अहिलेको संख्या दरबन्दीभन्दा बढी भएको हो।














प्रतिक्रिया दिनुहोस्