मधेस प्रदेश — खडेरीको असरका बीच मधेस प्रदेशका आठ जिल्लामा हालसम्म करिब ७७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कृषि विकास निर्देशनालयका निर्देशक जितेन्द्र यादवका अनुसार प्रदेशमा सबैभन्दा बढी रोपाइँ बारामा ९५ प्रतिशत पुगेको छ भने सबैभन्दा कम महोत्तरीमा ६१.५ प्रतिशत मात्र भएको छ।
प्रदेशको पाँच लाख ४२ हजार ५८१ हेक्टर खेतीयोग्य जमिनमध्ये तीन लाख ७२ हजार ६४५ हेक्टरमा धान रोपाइँ हुने गरेकामा अहिलेसम्म दुई लाख ८५ हजार ३३५ हेक्टरमा रोपाइँ भइसकेको छ। यादवका अनुसार पर्याप्त वर्षा नभए पनि बोरिङमार्फत सिँचाइ गरेर रोपाइँको क्षेत्रफल बढाइएको हो। बारा र पर्सामा गण्डक नहर, सप्तरीमा कोशी, सर्लाही र रौतहटमा बागमती नदीबाट किसानले सिँचाइ गर्न पाएका छन्। तर, धनुषामा कमला नदी सुक्दा समस्या बढेको छ।
यस वर्ष प्रदेशमा अधिकतम ८० प्रतिशतसम्म मात्र रोपाइँ हुने अनुमान गरिएको छ। ढिलो रोपाइँका कारण कुल धान उत्पादनमा करिब २७ प्रतिशत कमी आउने सम्भावना रहेको निर्देशक यादवले बताए।












प्रतिक्रिया दिनुहोस्