images
images

चक्रे मिलनसहित १९ जनामाथि अभद्र व्यवहारमा मुद्दा, प्रहरीको अनुसन्धान जारी

काठमाडौँ, साउन १ — काठमाडौँको ठमेलबाट बिहीबार राति पक्राउ परेका व्यक्तिहरूमध्ये १९ जनामाथि अभद्र व्यवहारको आरोपमा मुद्दा दायर गरिने भएको छ। पक्राउ पर्नेहरूमा चर्चित ‘गुण्डा नाइके’ मिलन गुरुङ उर्फ चक्रे मिलन पनि रहेका छन्। कुल ४७ जनालाई पक्राउ गरिएकोमा प्रारम्भिक छानबिनपछि २८ जनालाई रिहा गरिएको र बाँकी १९ जनालाई अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको काठमाडौँ प्रहरी परिसरका प्रमुख एसपी कुल्दीप चन्दले जानकारी दिए। जिल्ला प्रशासन कार्यालयबाट सात दिनसम्म हिरासतमा राखी अनुसन्धान गर्न स्वीकृति प्राप्त भएको पनि उनले बताए।

हिरासतमा राखिएका अन्य व्यक्तिहरूमा गणेशबहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दीप केसी, राहुल खड्का, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतिक लामा, चन्द्रदेव कार्की, जितबहादुर लामा, प्रकाश गोले, अमीर आले मगर, उत्तम महर्जन, प्रनिश कटेल, राजु परियार र सफल शाही छन्। प्रहरीका अनुसार चक्रे मिलनसहितका केही व्यक्तिहरूले सामाजिक सञ्जालमा सर्वसाधारणलाई आतंकित बनाउने खालका सामग्री पोस्ट गरेको पाइएको थियो। यस्तै, उनीहरू रेस्टुराँ तथा क्लबहरूमा झैझगडा गर्ने, हप्ता असुलीमा संलग्न हुनेजस्ता कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एआईजी टेकबहादुर तामाङको निर्देशनपछि प्रहरी निकायले गुण्डागर्दीमा संलग्न समूहहरूमा निगरानी बढाएको हो। सोही क्रममा बिहीबार बिहान ३ बजे ठमेलस्थित दोहोरी साँझबाट युवराज गुरुङ उर्फ सानुभाइलाई पनि प्रहरीले पक्राउ गरेको थियो। मुलुकी अपराध संहिता २०७४ को दफा १८ अनुसार, सार्वजनिक स्थान वा अरूको सम्पत्तिमा अनधिकृत रूपमा प्रवेश गरी कसैप्रति अभद्र व्यवहार गर्ने कार्यलाई अपराध मानेको छ। यस्तो कसुर प्रमाणित भएमा दोषीलाई अधिकतम एक वर्ष कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी प्रावधान रहेको छ।

प्रतिक्रिया दिनुहोस्