काठमाडौँ, साउन १ – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) भित्रको आन्तरिक विवाद सतहमा आएको छ। पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अध्यक्ष माधवकुमार नेपालमाथि गम्भीर आरोप लगाउँदै उनको कार्यशैलीलाई ‘तानाशाही प्रवृत्तिको’ बताएका छन्। पछिल्लो समय सार्वजनिकरूपमा व्यक्त विचारहरूलाई लिएर खनाल र अध्यक्ष नेपालको बीचमा तिव्र मतभेद देखिएको हो। नेता खनालले पार्टी विभाजन गरेर एकीकृत समाजवादी गठन गर्नुको औचित्य पुष्टि हुन नसकेको बताएका थिए। उक्त टिप्पणीपछि अध्यक्ष नेपालले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै “पार्टी छोड्न सकिने” अभिव्यक्ति दिएका थिए।
अध्यक्ष नेपालको अभिव्यक्तिको प्रतिवादमा खनालले शुक्रबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा ती भनाइलाई “अशोभनीय, गैरजिम्मेवार र तानाशाही प्रवृत्तिको” बताएका हुन्। “पार्टी नेतृत्व गर्ने जिम्मेवार व्यक्तिको भाषा यस्तो हुँदैन,” उनले भने, “यदि मेरो भनाइप्रति असहमति थियो भने पार्टी बैठकमा छलफल गर्न सकिन्थ्यो, तर सार्वजनिक रूपमा यस्तो आदेश दिनु तानाशाही सोच हो।”
खनालले पार्टीभित्र आलोचना र बहसलाई दबाउने प्रयास भइरहेको आरोप पनि लगाए। उनले पार्टीभित्र रचनात्मक छलफलको ढोका बन्द गर्न खोजिएको भन्दै चिन्ता व्यक्त गरे। “मैले पार्टी विभाजनको औचित्यमाथि प्रश्न उठाएँ, जनताको अपेक्षा अनुसार काम गर्न नसकेको भनेँ,” खनालले भने, “तर त्यसको जवाफमा पार्टी छोड्नू भन्ने आदेश दिइन्छ भने म सोध्न चाहन्छु — आखिर कस्तो तानाशाह बन्न खोजिएको हो?”
यसबीच, पार्टीभित्रको आन्तरिक विवाद सार्वजनिक भएपछि नेतृत्व तहमा थप ध्रुवीकरण हुनसक्ने संकेत देखिएको छ। विश्लेषकहरूका अनुसार, यदि संवादको वातावरण स्थापित हुन सकेन भने पार्टीमा गहिरो संकट उत्पन्न हुन सक्छ।










प्रतिक्रिया दिनुहोस्