काठमाडौँ — नेपाल–भारत सीमा कार्यदलको सातौं बैठकले सीमा क्षेत्रमा आवश्यक प्राविधिक कार्यहरू अघि बढाउन तीन वर्षे कार्ययोजना स्वीकृत गरेको छ। भारतको नयाँ दिल्लीमा सम्पन्न बैठकले सीमा क्षेत्रमा विशेषगरी दशगजा क्षेत्रमा गर्नुपर्ने कामहरूको कार्ययोजना पारित गरेको हो। पछिल्ला ६ वर्षदेखि दुईपक्षीय बैठक हुन नसक्दा सीमा सम्बन्धी प्राविधिक गतिविधिहरू ठप्प रहेका थिए।
बैठकमा सीमास्तम्भहरूको निरीक्षण, मर्मतसम्भार तथा नक्साङ्कन कार्यलाई प्रभावकारी बनाउन नयाँ प्रविधि प्रयोग गर्ने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाल पक्षबाट प्रतिनिधिमण्डलको नेतृत्व नापी विभागका महानिर्देशक प्रकाश जोशीले गरेका थिए भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व त्यहाँको नापी विभागका महानिर्देशक हितेशकुमार एस मकवानाले गरेका थिए।
बैठकमा सन् २०१९ मा देहरादूनमा सम्पन्न छैटौं बैठकमा भएको सहमति र कार्यान्वयनको समीक्षासमेत गरिएको थियो। बैठक विभिन्न सहमतिपत्रमा हस्ताक्षरसँगै समापन गरिएको छ। दुवै पक्षले नापी विभागका अधिकारीहरू सम्मिलित समिति बैठक आगामी महिना नेपालमा गर्ने र सीमा कार्यदलको अर्को बैठक पनि दुबै पक्षलाई अनुकूल हुने मितिमा नेपालमै आयोजना गर्ने निर्णय गरेका छन्।
नेपाल–भारत सीमा कार्यदल सन् २०१४ मा दुबै देशको सहमतिमा स्थापना गरिएको संयुक्त संयन्त्र हो, जसले सीमा व्यवस्थापन, स्तम्भ मर्मत, तथा प्रविधिक कार्यको सहकार्य गर्दै आएको छ।










प्रतिक्रिया दिनुहोस्