विश्व बैंकले नेपाललाई उपलब्ध गराउँदै आएको ऋणको ब्याजदर यो जुलाईदेखि बढाएको छ। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र अर्थ मन्त्रालयको संयुक्त आयोजनामा सोमबार सम्पन्न वैदेशिक सहायता परिचालनसम्बन्धी अभिमुखीकरण कार्यक्रममा वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले उक्त जानकारी दिएका हुन्। उनका अनुसार हालसम्म ०.७५ प्रतिशत ब्याजदरमा दिइँदै आएको ऋण अब १.५ प्रतिशत ब्याजदरमा उपलब्ध हुनेछ। शर्मा भन्छन्, “हामी धनी भएकै कारण ब्याज बढेको हो, अरू कुनै कारण छैन।”
नेपाल अहिले गरिब राष्ट्रहरूको सूचीबाट स्तरोन्नत भइसकेको भन्दै उनले यो वृद्धिलाई स्वाभाविक भने। साथै, विश्व बैंक र एशियाली विकास बैंक (ADB) ले हालै सार्वजनिक गरेका आफ्ना रणनीतिहरू—’कन्ट्री पार्टनर फ्रेमवर्क’ (WB) र ‘कन्ट्री पार्टनर स्ट्राटेजी’ (ADB)—सँग तालमेल मिलाउँदै विकास सहायता अघि बढाइने जानकारी उनले दिए। उनले स्पष्ट पारे, “वैदेशिक सहायता कार्यान्वयन दुवै पक्षको सहमतिमा मात्र सम्भव छ। नेपालले आफ्नै प्राथमिकता अनुसार मात्र सहायता पाउँछ भन्ने होइन।”
परियोजना छनोटका लागि ‘प्रोजेक्ट रेडिनेस फिल्टर’ लागू गरिएको उल्लेख गर्दै उनले परियोजनाको गुणस्तर र प्रतिफलमा केन्द्रित हुनुपर्ने बताए। “अब जतिखेर पनि सजिलै प्रोजेक्ट एप्लाई गर्न पाइने अवस्था छैन,” उनले भने। कार्यक्रममा उपसचिव डोलेन्द्र शर्माले वैदेशिक सहायता परिचालनका अभ्यासबारे जानकारी दिँदै सबै प्रतिबद्ध सहायता समयमा आउन नसक्ने उल्लेख गरे। उनले उदाहरणस्वरूप एमसीसी परियोजना उल्लेख गर्दै भने,
“यस वर्ष हामीले एमसीसीका लागि सात अर्बजति राखेका छौं, तर निरन्तरता नपाएको भए कार्यान्वयन देखिँदैनथ्यो।”मन्त्रालयका प्रतिनिधिहरू प्रेम उपाध्याय र विशेष प्रधानले विकास वित्त सूचना व्यवस्थापन प्रणालीबारे प्राविधिक जानकारी प्रस्तुत गरे।












प्रतिक्रिया दिनुहोस्