चितवन — अत्यधिक गर्मी र सिँचाइको माग बढेसँगै नेपाल विद्युत् प्राधिकरणको चनौली वितरण केन्द्रले आज आइतबार विभिन्न क्षेत्रमा ६ घण्टासम्म चरणबद्ध रूपमा विद्युत् आपूर्ति कटौती गर्ने भएको छ। चनौली वितरण केन्द्रका प्रमुख राजकुमार श्रेष्ठका अनुसार १३२/३३ केभी सबस्टेशनबाट जोडिएको ३३ केभी डगकन्डक्टर तारमा ३०० एम्पियरभन्दा बढी लोड सहन नसक्ने अवस्था रहेकाले कटौती आवश्यक भएको हो। हाल सो लाइनमा ४५० एम्पियरभन्दा बढी लोड पुगेकाले वितरणमा समस्या देखिएको र आज एक दिनका लागि लोड व्यवस्थापन गर्न तालिका लागू गरिएको जानकारी उनले दिए।
विद्युत् आपूर्ति कटौती पश्चिम चितवन र माडी क्षेत्रका नारायणी–माडी, मेघौली–विजयनगर–शुक्रनगर र जगतपुर–रामपुर फिडरमा हुने छ। नारायणी–माडी फिडरमा बिहान ६ बजेबाट ९ बजेसम्म र दिउँसो ३ बजेबाट ६ बजेसम्म विद्युत् आपूर्ति बन्द रहनेछ। मेघौली–विजयनगर–शुक्रनगर फिडरमा बिहान ९ बजेदेखि १२ बजेसम्म र बेलुका ६ बजेदेखि ९ बजेसम्म लोडसेडिङ हुनेछ। जगतपुर–रामपुर फिडरमा दिउँसो १२ बजेदेखि ३ बजेसम्म र राति ९ बजेदेखि १२ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।
एक हप्ताभित्र लोड व्यवस्थापन समस्या समाधान हुने प्राधिकरणको भनाइ छ। उपभोक्ताहरूलाई अत्यावश्यकबाहेक अन्य प्रयोजनमा विद्युत् प्रयोग कम गर्न र आवश्यक तयारी गर्न आग्रह गरिएको छ।














प्रतिक्रिया दिनुहोस्