गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको नयाँ अध्यक्षमा राजेन्द्र पुडासैनी निर्वाचित भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा उनले प्रतिस्पर्धी गोविन्द खरेल र मनिष खत्रीलाई पराजित गर्दै अध्यक्ष पदमा जित हासिल गरेका हुन्। संघ हाल आन्तरिक विवाद र ध्रुवीकरणको चपेटामा परेको बेला पुडासैनीले नेतृत्व सम्हालेका हुन्। अध्यक्षमा निर्वाचित भएपछि उनले संस्थालाई समावेशी, पारदर्शी र जनउत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गरे।
“नेतृत्वको संकटले संस्थाको छवि प्रभावित बनाएको छ,” नेपालखबरसँग कुरा गर्दै पुडासैनीले भने, “म एनआरएनएलाई सबै नेपालीको साझा र गौरवपूर्ण थलो बनाउने संकल्पका साथ आएको हुँ।” उनले संगठनभित्र देखिएको विभाजन अन्त्य गर्दै सबै पक्षलाई समेट्ने लक्ष्यसहित मार्गचित्र तयार पारेको जानकारी दिएका छन्। प्रेम गाहा मगर पक्षसँग सहकार्य गर्दै साझा एजेण्डामा काम गर्ने योजनासमेत उनले सार्वजनिक गरेका छन्।
एनआरएन अभियान आम जनतासँग पर्याप्तरूपमा जोडिन नसकेको कमजोरी स्वीकार्दै पुडासैनीले स्थानीय नेपाली समुदायसँगको सम्बन्ध बलियो बनाउने, बेलायत–नेपाल सम्बन्ध सुदृढ पार्ने तथा ज्ञान, सीप र प्रविधिको आदानप्रदानलाई प्राथमिकता दिने बताएका छन्। नुवाकोटको बेलकोटगढी नगरपालिका–८ निवासी पुडासैनी २५ वर्षअघि अध्ययनका लागि बेलायत गएका थिए। उनले प्रतिष्ठित युनिभर्सिटीबाट एमबीए र बीएस्सी अनर्स अध्ययन गरेका छन्।
विगत १५ वर्षदेखि बेलायतको स्वास्थ्य सेवामा कार्यरत पुडासैनी विद्यार्थी कालदेखि नै सामाजिक परिवर्तनका गतिविधिमा सक्रिय छन्। नेपालमा रहँदा उनी सरस्वती बहुमुखी क्याम्पसको स्ववियु सभापति थिए भने बेलायतमा ट्रेड युनियन आन्दोलनमा पनि अग्रणी भूमिका निभाएका छन्। हाल उनी जीएमबी नेशनल युनियन (लन्डन सेन्टर नर्थ) का सचिव छन्। सन् २०१४ मा लन्डन बरो अफ ह्यारोबाट काउन्सिलर पदमा पनि उम्मेदवार बनेका थिए।
पुडासैनी यती नेपाली एशोसिएसन यूकेको दुई कार्यकाल महासचिव, प्रवासी नेपाली मञ्च यूकेको अध्यक्ष र एनआरएनए अन्तर्राष्ट्रिय समिति सदस्य (२०२१–२३) का रूपमा पनि कार्यरत भइसकेका छन्।












प्रतिक्रिया दिनुहोस्