काठमाडौं — सोमबार च्यासलस्थित पार्टी कार्यालयमा बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा तीन मुख्य विषयलाई लिएर नेताहरूले चासो प्रकट गरेका छन्। बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियता, पार्टीको विधानमा रहेको ७० वर्षे उमेर सीमा र दुई कार्यकालको प्रावधान हटाउने प्रस्ताव तथा विधान संशोधनको प्रक्रिया सम्बन्धी बहसहरू प्रमुख विषय बने।
बैठकमा अधिकांश नेताहरूले पूर्वराष्ट्रपति भण्डारीको पार्टी प्रवेशलाई लिएर बाहिर बहस गर्नुभन्दा राजनीतिक निर्णयमार्फत चाँडो टुंगो लगाउनु पर्ने धारणा राखेका थिए। प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सचिवालय र पोलिटब्युरो बैठकबाट आएका प्रस्तावहरूमा केन्द्रिय सदस्यहरूले समर्थन जनाउँदै विधान संशोधनमा विभिन्न सुझावहरू दिएका बताए।
धारा ६४ अन्तर्गत रहेको उमेर सीमा र कार्यकाल सम्बन्धी प्रावधान हटाउने प्रस्तावमा धारणा राख्ने ४९ सदस्यमध्ये अधिकांशले समर्थन जनाएका थिए। उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन र महासचिव शंकर पोखरेलले सांगठानिक राजनीतिक प्रस्ताव बैठकमा पेश गरेका थिए।
बैठकमा केन्द्रीय सदस्य कृष्ण केसी र धर्मदत्त देवकोटाले उमेर हद हटाउने निर्णयको कारण माग गर्दै नेतृत्वसँग प्रश्न गरेका थिए। केसीले वरिष्ठ उपाध्यक्ष पद हटाउनुको कारण पनि स्पष्ट पार्नुपर्ने धारणा राखे। विष्णु रिजालले विधान महाधिवेशनको व्यवस्था खारेज गरी राष्ट्रिय महाधिवेशनमार्फत छलफल हुनुपर्ने र राष्ट्रिय परिषद् गठन गर्नुपर्ने सुझाव दिए। उनले पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्कन नहुने भनाइ राखे।
अन्य सदस्यहरू सरोज यादवले कोषाध्यक्षको व्यवस्था गर्नुपर्ने र घनश्याम पाण्डेले पाँच पदाधिकारी, १५ सदस्यीय स्थायी कमिटी र १५१ केन्द्रीय सदस्य रहने ढाँचा बनाउनु उपयुक्त हुने सुझाव दिए।
बैठकको सुरुमा अध्यक्ष केपी शर्मा ओलीले आइतबार पूर्वराष्ट्रपति भण्डारीसँग भएको भेटवार्ताको जानकारी दिएका थिए। उनले भने, ‘तपाईं सम्मानित भएर बस्नुस्, यता नआउनुस्, मैले पोलिटब्युरो बैठकमा जे भनेको थिएँ, उहाँसँगको भेटमा पनि त्यही भनेको छु।’
बैठकमा हरेक केन्द्रीय सदस्यलाई तीन मिनेट बोल्ने समय दिइएको थियो। पहिलो दिनको बैठकमा कृष्ण थापा, राजीव पहारी, प्रभा बराल, तिलक महत, बालकृष्ण काउछा, गोविन्द नेपाली, सूर्य पाठक, रविन्द्र अधिकारी, रामशरण बस्नेत, पदम गिरी, केदार सिग्देल, सम्झना देवकोटा, कल्पना चापागाईं, दिवाकर देवकोटा, हरि उप्रेती, प्रतीक्षा तिवारी, प्रभु हजारा, अरविन्द सिंह, सरोज यादव, रमेश पौडेल, कल्पना थापा, श्याम बस्नेत, पासाङ शेर्पा, विष्णु रिजाल, नीरज आचार्य र विद्या भट्टराईलगायतले धारणा राखेका थिए।














प्रतिक्रिया दिनुहोस्