images
images

महानगरको छात्रवृत्ति परीक्षामा सहभागी हुने १७ हजार विद्यार्थी

काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ का लागि खुलाएको छात्रवृत्तिमा देशभरिका करिब १८ हजार विद्यार्थीले आवेदन दिएका छन्। ७७ वटै जिल्लाबाट आवेदन प्राप्त भएको महानगरपालिकाले जानकारी दिएको छ। महानगरले विगत दुई वर्षदेखि आफ्नो क्षेत्रभित्रका निजी विद्यालयहरूमा भर्ना हुने कुल संख्याको १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्तिमा पढाउने व्यवस्था गर्दै आएको छ। प्रतिस्पर्धात्मक परीक्षाको आधारमा छात्रवृत्ति दिने यो प्रक्रिया महानगरले नै सञ्चालन गर्छ।

यस वर्ष असार १८ देखि २७ गतेसम्म आवेदन खुला गरिएको थियो, जसमा १७ हजार ९२९ विद्यार्थीले आवेदन दिएका थिए। तीमध्ये ७ सयको आवेदन अस्वीकृत भएको महानगरपालिकाका सूचना अधिकारी नुरनिधि न्यौपानेले जानकारी दिए। ग्रेड पर्याप्त नभएको, आवश्यक कागजात नपुगेको वा मापदण्डअनुसार नभएको कारणले ती आवेदन अस्वीकृत भएको हो। बाँकी रहेका १७ हजार २२९ विद्यार्थी भने साउन ३ गते हुने परीक्षामा सहभागी हुन पाउनेछन्।

२०८० सालदेखि नगर प्रमुख बालेन्द्र शाहको नेतृत्वमा महानगरले छात्रवृत्तिका लागि आफैंले परीक्षा लिने प्रक्रिया थालेको हो। सुरुमा ८ हजार विद्यार्थीले आवेदन दिएका थिए, जसमा ३ हजार ५५९ जनाले पूर्ण छात्रवृत्ति प्राप्त गरेका थिए। त्यसपछि २०८१ मा १२ हजारले आवेदन दिएर ३ हजार ८०१ जनाले छात्रवृत्ति पाए।

यसपटक आवेदन दिनेहरूको संख्या अघिल्लो वर्षको तुलनामा झन्डै ३० प्रतिशतले वृद्धि भएको छ। महानगरले यो वर्ष कम्तीमा ३ हजार ५०० विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन सकिने अनुमान गरेको छ। यो संख्या विद्यालयहरूमा भर्ना हुने विद्यार्थी संख्याका आधारमा निर्धारण गरिने छ।

पहिले छात्रवृत्तिको जिम्मेवारी विद्यालय आफैले लिने गर्थे, जसले गर्दा छनोट प्रक्रियामा पारदर्शिता नहुँदा पहुँच र राजनीतिक दबाबका आधारमा छात्रवृत्ति दिने गरिएको थियो। कतिपय कलेजहरूले छात्रवृत्ति दिने आश्वासनमा विद्यार्थी भर्ना गरेपछि पछाडि हट्ने, शुल्क असुल्ने जस्ता समस्या देखिन्थे। तर अब महानगरको प्रत्यक्ष परीक्षात्मक प्रणालीले जेहेन्दार विद्यार्थीलाई अवसर मिल्न थालेको छ भने कलेजको मनपरी पनि रोकिएको छ। स्थानीय सरकार सञ्चालन ऐनअनुसार छात्रवृत्तिको व्यवस्थापन स्थानीय सरकारको जिम्मामा परेको हो।

प्रतिक्रिया दिनुहोस्