images
images

निर्वाचन बिना प्रतिनिधि चयन भए आन्दोलन गर्छौं: स्ववियु नेताहरूको चेतावनी

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत विभिन्न क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिहरूले त्रिवि सभामा हुने विद्यार्थी प्रतिनिधित्व निर्वाचनमार्फत गर्नुपर्ने माग गरेका छन्। १६ वटा क्याम्पसका स्ववियु सभापतिहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै विश्वविद्यालय प्रशासनले प्रतिनिधि मनोनयनमार्फत चयन गर्ने तयारी गरेकोप्रति विरोध जनाएका हुन्। उनीहरूले प्रतिनिधि चयन लोकतान्त्रिक तरिकाले नभए कानुनी र आन्दोलनको बाटो रोज्न बाध्य हुने चेतावनी दिएका छन्।

विज्ञप्तिमा त्रिचन्द्र बहुमुखी क्याम्पसका गोविन्द कोइराला, भक्तपुरका पुकार पराजुली, पद्मकन्याका भूपी ऐर, जनप्रशासन क्याम्पसका अनिकेत तिवारी लगायतका सभापतिहरूको हस्ताक्षर छ। स्ववियु नेताहरूले त्रिवि ऐन, २०४९ अनुसार त्रिवि सभामा दुई जना विद्यार्थी प्रतिनिधि रहने व्यवस्था भए पनि प्रतिनिधि चयन प्रक्रिया अस्पष्ट रहेको उल्लेख गरेका छन्। यही अस्पष्टताको आडमा त्रिवि कार्यकारी परिषद्ले अपारदर्शी र स्वेच्छाचारी ढंगले प्रधानमन्त्रीसमक्ष सिफारिस गर्न लागेको भन्दै उनीहरूले आपत्ति जनाएका छन्।

विज्ञप्तिमा भनिएको छ, “देशभरका क्याम्पसहरूमा निर्वाचित सभापतिहरूबीच समान अधिकार हुन्छ, त्यसैले प्रतिनिधित्व खुला प्रतिस्पर्धा वा विधिसम्मत निर्वाचनबाट मात्र हुनुपर्छ।” उनीहरूले प्रतिनिधित्वको मनोनयन प्रणालीलाई लाखौँ विद्यार्थीको अधिकारमाथि खेलबाड हुने अलोकतान्त्रिक र गैरजिम्मेवार कदम भनेका छन्। सभापतिहरूले हालै विद्यार्थी प्रतिनिधि नै नराखी बोलाइएको त्रिवि सभाको बैठकप्रति पनि असन्तुष्टि जनाएका छन्। उनीहरूले निरन्तर विद्यार्थी अधिकार र बौद्धिक स्वतन्त्रताको पक्षमा आवाज उठाउँदै आएका निर्वाचित सभापतिहरूको अवमूल्यन हुनु निरङ्कुश र खेदजनक भएको टिप्पणी गरेका छन्। उनीहरूले तत्काल निर्वाचनसम्बन्धी कार्यविधि तयार गरी मात्र सिनेट (त्रिवि सभा) गठन गर्न र त्यसैबाट प्रतिनिधि चयन गर्न माग गर्दै, अन्यथा कानुनी र आन्दोलनको बाटो अवलम्बन गरिने चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्