यस वर्ष मनसुन सामान्य समयभन्दा १५ दिनअघि नै जेठ १५ गते पूर्वी नेपालबाट प्रवेश गरी असार ६ गतेसम्म देशभर फैलिएको छ। समयमै आएको वर्षाले देशभरको धान रोपाइँमा सकारात्मक प्रभाव पारेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत कृषि विभागका अनुसार सोमबारसम्म कुल ४५ दशमलव ०३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ, जुन गत वर्षको सोही समयको तुलनामा १ दशमलव ५३ प्रतिशतले बढी हो। गत वर्ष यति बेलासम्म ४३ दशमलव ५ प्रतिशत मात्र रोपाइँ भएको थियो।
कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलका अनुसार धेरै किसान आकाशे पानीमा निर्भर हुने भएकाले समयमै मनसुन भित्रिनु सकारात्मक मानिन्छ। पूर्वी तराईबाट मनसुन सुरु भए पनि मधेस प्रदेशमा वर्षा कम भएकोले अन्य प्रदेशको तुलनामा रोपाइँको गति कम देखिएको छ। तर त्यो पनि गत वर्षको तुलनामा बढेको हो। सामान्यतया सुदूरपश्चिम प्रदेशमा छिटो र मधेसमा ढिला रोपाइँ सुरु हुने प्रवृत्ति रहँदै आएको उनले बताए।
देशभर कूल १३ लाख ८३ हजार ७३२ हेक्टर क्षेत्रफलमध्ये हालसम्म ६ लाख २३ हजार १०४ दशमलव ४७ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ। कोशी प्रदेशमा २ लाख ७६ हजार ३८६ दशमलव ७३ हेक्टर क्षेत्रफलमध्ये ८१ हजार ६३४ दशमलव ९ हेक्टरमा रोपाइँ भइसकेको छ, जुन २९ दशमलव ५४ प्रतिशत हो। मधेस प्रदेशमा ३ लाख ७२ हजार ६४५ हेक्टरमध्ये ९३ हजार ४६८ दशमलव २ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ, जुन २५ दशमलव ०८ प्रतिशत हो। बागमती प्रदेशमा १ लाख २० हजार ५४५ हेक्टरमध्ये ६२ हजार ५६१ हेक्टरमा रोपाइँ भएको छ, जुन ५१ दशमलव ९ प्रतिशत हो।
गण्डकी प्रदेशमा ९४ हजार १८२ हेक्टर क्षेत्रफलमध्ये ५२ हजार ३५३ हेक्टरमा अर्थात् ५५ दशमलव ६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। लुम्बिनी प्रदेशमा ३ लाख २ हजार ९३९ हेक्टरमध्ये १ लाख ५७ हजार ८५७ हेक्टरमा अर्थात् ५२ दशमलव १ प्रतिशत रोपाइँ भएको छ। कर्णाली प्रदेशमा ४० हजार ८८४ हेक्टरमध्ये २९ हजार २९९ हेक्टरमा अर्थात् ७१ दशमलव ७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। सुदूरपश्चिम प्रदेशमा १ लाख ७६ हजार १५१ हेक्टरमध्ये १ लाख ४५ हजार ९३२ हेक्टरमा रोपाइँ सम्पन्न भइसकेको छ, जुन ८२ दशमलव ८ प्रतिशत हो।
कृषि मन्त्रालयका अनुसार मुलुकभर झण्डै ५० प्रतिशत रोपाइँ मनसुनी वर्षामै निर्भर हुन्छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष जनकपुर, सिमरा, विराटनगरलगायतका स्थानमा औसतभन्दा कम र धनगढी, सुर्खेत, भैरहवा, लुम्ले, जुम्ला, दाङ र काठमाडौंमा औसतभन्दा बढी वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत हावापानी विज्ञान महाशाखाका अनुसार मनसुन अवधिभर सरदर १४ सय मिलिमिटर वर्षा हुने गरेकामा हालसम्म ३५२ दशमलव मिलिमिटर अर्थात् २३ दशमलव ८ प्रतिशत वर्षा भइसकेको छ। महाशाखाका अनुसार जुन महिनामा भएको वर्षा सरदरको ९९ प्रतिशत रहेको छ। सामान्यतया सरदरको ९० देखि ११० प्रतिशतसम्मलाई सरदर मानिने भएकाले हालसम्मको वर्षा सन्तोषजनक रहेको विभागकी प्रवक्ता विभूति पोखरेलले जानकारी दिइन्।
हाल जुलाईदेखि सेप्टेम्बरसम्मको तीन महिनाका लागि मौसमको अद्यावधिक आँकलन गरिएको छ। त्यहीअनुसार मधेस प्रदेशको दक्षिणी भूभागमा सरदरभन्दा कम, कोशी प्रदेशको दक्षिणी भागमा सरदर र देशका बाँकी भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको छ। कर्णाली प्रदेशको पूर्वी भाग, लुम्बिनी प्रदेशको उत्तर र गण्डकी प्रदेशको अधिकांश भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ। यस्तै सुदूरपश्चिमको दक्षिण, लुम्बिनीको पश्चिम, गण्डकीको उत्तर–पूर्व, बागमती र कोशीको उत्तर भागमा सरदरभन्दा बढी वर्षाको सम्भावना ४५ देखि ५५ प्रतिशत छ। कोशीको दक्षिण, बागमतीको दक्षिण, मधेसको मध्य र पूर्वी भागमा सरदरभन्दा कम वर्षाको सम्भावना ३५ देखि ४५ प्रतिशत छ।
कृषि मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१ मा मुलुकभर ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको छ, जुन २०८० सालको तुलनामा ४ दशमलव ०४ प्रतिशतले वृद्धि हो। कोशी प्रदेशमा १४ लाख ६६ हजार ५१८ मेट्रिक टन, मधेसमा १४ लाख ८० हजार ८३० मेट्रिक टन, बागमतीमा ४ लाख ९८ हजार ६३२ मेट्रिक टन, गण्डकीमा ३ लाख ७९ हजार ३२ मेट्रिक टन, लुम्बिनीमा १३ लाख ६४ हजार ३१ मेट्रिक टन, कर्णालीमा १ लाख ३० हजार १९१ मेट्रिक टन र सुदूरपश्चिम प्रदेशमा ६ लाख ३६ हजार २१२ मेट्रिक टन धान उत्पादन भएको हो।














प्रतिक्रिया दिनुहोस्