काठमाडौँ — हुम्लाको खार्पुनाथ गाउँपालिका–५ चुवाखोला कर्णाली नदीमा नेपाली सेनाले निर्माण गरेको बेलिब्रिजको हालै उद्घाटन गरिएको छ। योसँगै हुम्ला जिल्ला सदरमुकाम सिमकोट पहिलोपटक राष्ट्रिय सडक सञ्जालमा प्रत्यक्ष रूपमा जोडिएको छ।
अब देशका सबै ७७ वटै जिल्लाका सदरमुकामहरू राष्ट्रिय सडक सञ्जालमा आबद्ध भएका छन्। पक्की पुल निर्माणको प्रक्रिया लामो हुने भएकाले तत्कालका लागि नेपाली सेनाले चुवाखोलामा अस्थायी बेलिब्रिज निर्माण गरेको हो। गत वर्षको चैत अन्तिमतिर नेपाली सेनाले कर्णाली करिडोरअन्तर्गत २८६ किलोमिटर सडक ट्र्याक खोलिसकेको थियो, जसपछि सिमकोटसम्म सवारी साधन पुग्न थालेका थिए। तर, चुवाखोलामा पुल नहुँदा हुम्ला सडक सञ्जालमा औपचारिक रूपमा जोडिएको थिएन।
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको कर्णाली करिडोर २०५६ सालमा शिलान्यास भएको हो। यसले सुर्खेतबाट सिमकोट हुँदै चीनसँग जोडिने उत्तरी नाका हिल्सासम्म सडक विस्तार गर्ने लक्ष्य राखेको छ। केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत “हुम्ला अब टाढा छैन” भनी टिप्पणी गर्दै दशकौं लामो सपना साकार हुन लागेको बताएका थिए। उनले उक्त सडक सञ्चालनमा आएपछि नेपाल सीधै हिल्सा नाकाबाट चीनसँग सडकमार्गद्वारा जोडिने पनि उल्लेख गरेका थिए।














प्रतिक्रिया दिनुहोस्