ललितपुर, असार ७ – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी नागरिकता लिइसकेका व्यक्तिहरूलाई पुनः नेपाली नागरिकता दिन नसकिने स्पष्ट पारेका छन्। शनिबार ललितपुरमा आयोजित “सुगौली सन्धि र नेपालमा नागरिकता” पुस्तक विमोचन कार्यक्रममा बोल्दै देउवाले ब्रिटिस गोरखा सैनिकहरूले नेपालको नागरिकताको निरन्तरता माग गर्नु स्वाभाविक भए पनि विदेशी नागरिकता लिइसकेपछि नेपाली नागरिकता दिन सक्ने अवस्था नरहेको बताए।
उनले भने, “जहाँसम्म गोरखा ब्रिटिस सैनिकलाई बेलायती सैनिक सरह सेवा-सुविधा दिनुपर्छ भन्ने हाम्रो माग छ, त्यसमा म स्पष्ट छु। तर, नागरिकता भने दिने कि नदिने भन्ने विषय हाम्रो हातमा मात्र छैन।”
पूर्वप्रधानमन्त्री देउवाका अनुसार, विदेशी नागरिकता लिइसकेकालाई नेपाली नागरिकता दिनु नेपालजस्तो सानो देशका लागि जटिल हुनसक्ने भन्दै वैकल्पिक रूपमा गैरआवासीय नेपाली (एनआरएन) नागरिकता जस्ता सुविधा दिन सकिने बताए। उनले थपे, “अरु कामका लागि एनआरएनलाई सरहको नागरिकता दिन सकिन्छ, तर पूर्ण नागरिकता दिन सकिन्न।
नेपाल फर्किन चाहनेलाई हामी स्वागत गर्छौं, तर विदेशी नागरिकता लिएकालाई पुनः नेपाली नागरिकता दिन गाह्रो पर्छ।” उनले नागरिकता सम्बन्धी विषयमा राजनीतिक दलहरूबीच छलफल भइरहेको जानकारी दिँदै छिट्टै निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरे।














प्रतिक्रिया दिनुहोस्