images
images

त्रिकोणात्मक सिरिज : नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै

स्कटल्यान्डमा जारी त्रिकोणात्मक टि–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत आज नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ। ग्लासगोस्थित टिटवुड मैदानमा हुने खेल नेपाली समयअनुसार बिहीबार राति ७:४५ बजे सुरु हुनेछ।

सिरिजमा दुवै टोलीका लागि यो खेल महत्त्वपूर्ण मानिएको छ। नेपालले सिरिजमा दोस्रो जित दर्ता गर्दै पहिलो खेलमा नेदरल्यान्ड्ससँगको हारको बदला लिने लक्ष्य लिएको छ। त्यस्तै, नेदरल्यान्ड्स भने नेपाललाई पुनः पराजित गर्दै सिरिजमा तेस्रो जित हात पार्ने र प्रतियोगिता सुखद रुपमा समाप्त गर्ने उद्देश्यले मैदानमा उत्रनेछ।

नेपाल र नेदरल्यान्ड्सबीचको पहिलो खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो। खेल तेस्रो सुपर ओभरसम्म पुगेको थियो, जसमा डच टोलीले रोमाञ्चक जित दर्ता गरेको थियो। ती खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरे पनि अन्तिम क्षणमा जित हात पार्न सकेको थिएन। आजको खेल नेपाली टोलीका लागि त्यस पराजयको बदला लिने अवसरका रूपमा पनि हेरिएको छ।

यसअघि, नेपालले स्कटल्यान्डविरुद्धको खेलमा २ विकेटको रोमाञ्चक जित निकाल्दै सिरिजको शुरुवात विजयी ढंगले गरेको थियो। उता, नेदरल्यान्ड्सले पहिलो खेलमा स्कटल्यान्डसँग ३९ रनले पराजित भए पनि दोस्रो खेलमा सोही टोलीमाथि १७ रनको जीत निकाल्दै आत्मविश्वास बढाएको छ।

दुबै टोलीको उद्देश्य जित सुनिश्चित गर्दै सिरिजको अन्तिम खेलमा बलियो अवस्था बनाउनु हो। नेपालले सिरिजको अन्तिम खेल शुक्रबार स्कटल्यान्डसँग खेल्नेछ, जसमा जित निकाले सिरिजमा राम्रो सम्भावना कायम राख्न सक्नेछ। यसरी हेर्दा, आजको खेल नेपाल र नेदरल्यान्ड्सका लागि रणनीतिक, मनोवैज्ञानिक र प्रतियोगितात्मक दृष्टिकोणले महत्त्वपूर्ण बन्नेछ। नेपाली टोली जित निकाल्दै बदला चुकाउन चाहन्छ भने नेदरल्यान्ड्स जितको लय कायम राख्ने सोचमा हुनेछ। दर्शकहरूले एक रोमाञ्चक खेलको अपेक्षा गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्