काठमाडौँ — जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले बिहीबार (असार ५) का लागि बाढीसम्बन्धी सतर्कता सूचना जारी गरेको छ। दैनिक रूपमा बाढीको जोखिम मूल्यांकन गर्दै आउने महाशाखाले आज पनि देशका विभिन्न जिल्लाका नदीहरूमा बहाव बढ्ने सम्भावना रहेको जनाएको छ।
बाढी महाशाखाले सार्वजनिक गरेको बुलेटिनअनुसार, आज इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, गोरखा, लमजुङ, कास्की, स्याङ्जा, कैलाली, कञ्चनपुर लगायतका जिल्ला हुँदै बग्ने अधिकांश नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्न सक्नेछ। केही नदीहरूमा आकस्मिक बाढीको सम्भावना समेत रहेकाले ती क्षेत्रका नदी तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
यस्तै, पाँचथर, तेह्रथुम, ताप्लेजुङ, संखुवासभा, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, दोलखा, रामेछाप, धादिङ, नुवाकोट, काठमाडौं उपत्यकाका तीनै जिल्ला (काठमाडौँ, ललितपुर, भक्तपुर), काभ्रेपलाञ्चोक, सिन्धुली, मकवानपुर, उदयपुर, सिराहा, धनुषा, महोत्तरी, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी, पर्सा, चितवन, नवलपुर, गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान, रोल्पा, बाँके, बर्दिया, सुर्खेत, अछाम, दैलेख, दार्चुला, डोटी र डडेलधुरा लगायतका जिल्लामा बहने नदीहरूको बहाव सामान्य रूपमा बढ्न सक्ने पूर्वानुमान गरिएको छ।
महाशाखाले ती जिल्लाका नदी किनार नजिक रहने बासिन्दालाई आवश्यक सतर्कता अपनाउन सुझाव दिएको छ, विशेष गरी निरन्तर वर्षाका कारण आकस्मिक बाढीको सम्भावना रहेका स्थानहरूमा। बाढीबाट हुने जोखिम न्यूनीकरणका लागि स्थानीय प्रशासन, नागरिक र सरोकारवाला निकायहरूलाई सचेत रहन महाशाखाको आग्रह छ।












प्रतिक्रिया दिनुहोस्