images
images

माग सम्बोधन नहुँदै सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित

काठमाडौँ — सुनचाँदी व्यवसायीले आफ्ना मागहरूमाथि समाधान नभए पनि हाललाई आन्दोलन स्थगित गर्ने निर्णय गरेका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको संयुक्त राष्ट्रिय भेलाले बुधबार आन्दोलन रोकेर केही समय सरकारलाई दिएको चेतावनीको समयसीमा कुर्ने निर्णय गरेको हो। महासंघका अनुसार, आन्दोलन स्थगित भएपछि काठमाडौँसहित बागमती प्रदेशका बन्द रहेका सुनचाँदी पसलहरू बिहीबारदेखि पुनः सञ्चालनमा आएका छन्।

यद्यपि व्यवसायीहरूले असार मसान्तसम्मको समयसीमा तोक्दै सरकारलाई स्पष्ट चेतावनी दिएका छन्। उनीहरूको प्रमुख मागमा सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य रत्नमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्नु पर्ने तथा नेपाल र भारतबीच सुनको भन्सार दर समान हुनुपर्ने विषय समावेश छन्।

व्यवसायीहरूले माग सम्बोधन नभएमा असार मसान्तपछि संयुक्त समिति मार्फत सशक्त आन्दोलन गर्ने चेतावनी पनि दिएका छन्।

प्रतिक्रिया दिनुहोस्