images
images

मनसुन सक्रिय : चार प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं — हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भागमा मनसुनी वायुको प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशको पश्चिमी भू–भागमा भने पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। साथै, भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव पनि नेपालको मौसममा देखिएको विभागले जानकारी दिएको छ।

बिहीबार दिनभर देशभर सामान्यदेखि पूर्ण बदली हुने मौसम रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। विशेष गरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। साथै, उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

बिहीबार राति पनि देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। त्यस्तै, कोशी, मधेस, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  उच्च–पहाडी र हिमाली क्षेत्रमा रहेका नागरिकलाई सतर्कता अपनाउन र सम्भावित जोखिमबाट बच्न आवश्यक तयारी गर्न महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्