images
images

सातै प्रदेशको बजेट सार्वजनिक: आन्तरिक ऋण, संघीय अनुदान र खर्चको चुनौती

सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आफ्नो वार्षिक बजेट सार्वजनिक गरेका छन्। ती बजेटमा आन्तरिक स्रोत, संघीय सरकारबाट प्राप्त अनुदान, राजस्व बाँडफाँट, अघिल्लो वर्षको बचत रकम, र कतिपय अवस्थामा आन्तरिक ऋणबाट स्रोत जुटाइएको छ। प्रदेशहरूमा खर्च संरचना समानजस्तै देखिए पनि प्राथमिकता, बजेटको आकार, र खर्च गर्ने योजना केही फरक छन्।

कर्णाली प्रदेश

कर्णाली प्रदेशले कुल ३२ अर्ब ९९ करोड ६६ लाख रुपैयाँको बजेट ल्याएको छ। यसमध्ये ७ अर्ब ७९ करोड चालु खर्च, १९ अर्ब ९८ करोड पुँजीगत खर्च, ६१ करोड ५० लाख वित्तीय व्यवस्थापनतर्फ, र ४ अर्ब ५९ करोड स्थानीय तहलाई हस्तान्तरण गर्ने व्यवस्था गरिएको छ। स्रोतको हिसाबले कर्णालीले आन्तरिक आयबाट ९६ करोड ७४ लाख, अघिल्लो वर्षको नगद मौज्दातबाट ५ अर्ब ६९ करोड, संघीय सरकारबाट राजस्व बाँडफाँट १० अर्ब २७ करोड, समानीकरण अनुदान १० अर्ब ५६ करोड, सशर्त अनुदान ४ अर्ब ४४ करोड, समपूरक अनुदान ५३ करोड र विशेष अनुदान ४९ करोड प्राप्त गर्ने अनुमान गरिएको छ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशको बजेट ३३ अर्ब ४७ करोड रुपैयाँ रहेको छ। यस बजेटमा १० अर्ब २० करोड चालुतर्फ, १९ अर्ब ८३ करोड पुँजीगततर्फ, र १ करोड वित्तीय व्यवस्थापनतर्फ विनियोजन गरिएको छ। स्रोतको पक्षमा १ अर्ब ६५ करोड आन्तरिक राजस्व, ९ अर्ब ८७ करोड संघीय राजस्व बाँडफाँट, ८ अर्ब ९२ करोड समानीकरण अनुदान, ४ अर्ब १६ करोड सशर्त अनुदान, ६० करोड समपूरक अनुदान, ५१ करोड विशेष अनुदान र अघिल्लो वर्षको बचत ७ अर्ब ६६ करोड समावेश गरिएको छ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशले ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट ल्याएको छ। १२ अर्ब १ करोड चालु खर्चमा, २३ अर्ब ४७ करोड पुँजीगत खर्चमा, र ३ अर्ब ४२ करोड वित्तीय हस्तान्तरणतर्फ विनियोजन गरिएको छ। बजेट स्रोतहरूमा ७ अर्ब ७८ करोड आन्तरिक राजस्व, ११ अर्ब ८६ करोड संघीय राजस्व बाँडफाँट, ४१ करोड रोयल्टी, २ अर्ब ८२ करोड स्थानीय तहबाट बाँडफाँट, ८ अर्ब ४४ करोड समानीकरण अनुदान, ४ अर्ब ६६ करोड सशर्त अनुदान, ५१ करोड समपूरक अनुदान, ४० करोड विशेष अनुदान र २ अर्ब नगद मौज्दात समावेश छन्।

गण्डकी प्रदेश

गण्डकी प्रदेशको बजेट ३१ अर्ब ९८ करोड रुपैयाँ रहेको छ। १२ अर्ब ६३ करोड चालु, १९ अर्ब ९ करोड पुँजीगत, र २५ करोड वित्तीय व्यवस्थापनतर्फ खर्च विनियोजन गरिएको छ। बजेट स्रोतहरूमा ५ अर्ब ४५ करोड आन्तरिक राजस्व, ९ अर्ब ७९ करोड संघीय बाँडफाँट, ७ अर्ब ७३ करोड समानीकरण अनुदान, ३ अर्ब ३५ करोड सशर्त अनुदान, ६३ करोड समपूरक अनुदान, ४९ करोड विशेष अनुदान, २ अर्ब २४ करोड बचत, र १ अर्ब ७५ करोड आन्तरिक ऋण समावेश गरिएको छ।

बागमती प्रदेश

बागमती प्रदेशले सातै प्रदेशमध्ये सबैभन्दा ठूलो ६७ अर्ब ४७ करोड रुपैयाँको बजेट ल्याएको छ। यसमध्ये २६ अर्ब ४ करोड चालु खर्चमा र ४१ अर्ब ४३ करोड पुँजीगत खर्चमा छुट्याइएको छ। स्रोतका रूपमा २८ अर्ब ८७ करोड कर राजस्व, ६ अर्ब ७९ करोड अन्य राजस्व, १४ अर्ब ८१ करोड संघीय वित्तीय हस्तान्तरण, र १६ अर्ब ९८ करोड नगद मौज्दात तथा विविध प्राप्तिहरू उल्लेख छन्।

मधेश प्रदेश

मधेश प्रदेशको बजेट ४६ अर्ब ५८ करोड रुपैयाँ रहेको छ। खर्चतर्फ १६ अर्ब ७२ करोड चालु र ३० अर्ब २६ करोड पुँजीगत खर्चमा छ। स्रोतको हिसाबले ९ अर्ब ५० करोड आन्तरिक राजस्व, १२ अर्ब ३५ करोड संघीय राजस्व बाँडफाँट, १२ अर्ब ७३ करोड संघीय अनुदान, १० अर्ब ३८ करोड बचत र २ अर्ब आन्तरिक ऋण उल्लेख छ।

कोशी प्रदेश

कोशी प्रदेशले ३५ अर्ब ८८ करोड रुपैयाँको बजेट ल्याएको छ। त्यसमा १८ अर्ब ६७ करोड चालु खर्च, १७ अर्ब १० करोड पुँजीगत खर्च र १० करोड वित्तीय व्यवस्थापनतर्फ विनियोजन गरिएको छ। बजेट स्रोतको रूपमा ५ अर्ब ५० करोड आन्तरिक राजस्व, १२ अर्ब ३९ करोड संघीय बाँडफाँट, ४ अर्ब ९८ करोड समानीकरण अनुदान, ४ अर्ब ५७ करोड सशर्त अनुदान, ३९ करोड समपूरक अनुदान, ५५ करोड विशेष अनुदान, ३५ करोड रोयल्टी र ३ अर्ब १३ करोड नगद मौज्दात समावेश छन्।

प्रतिक्रिया दिनुहोस्