images
images

नेपाल समाजवादी पार्टीको बैठकबाट ११ बुँदे राजनीतिक प्रस्ताव पारित

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को दोस्रो पूर्ण बैठकमा ११ बुँदे समसामयिक राजनीतिक प्रस्ताव पारित गरिएको छ। दुई दिनसम्म चलेको बैठकमा ६६ जना केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए। पारित प्रस्तावमा वर्तमान राजनीतिक, आर्थिक, सामाजिक तथा प्रशासनिक अवस्थाप्रति गम्भीर चासो व्यक्त गर्दै सुधारको माग गरिएको छ।

बैठकले संविधान संशोधनको आवश्यकता औंल्याउँदै संघीय लोकतान्त्रिक गणतन्त्रको पुनर्संरचना, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको औचित्य पुष्टि भएको जनाएको छ। त्यसका लागि प्रगतिशील लोकतान्त्रिक शक्तिहरूबीच एकता आवश्यक रहेको निष्कर्ष निकालिएको छ।

वित्तीय क्षेत्रमा सीमित व्यक्तिहरूको प्रभाव रहेको, बैंकमा अत्यधिक तरलता हुँदा पनि उत्पादन क्षेत्रमा ऋण प्रवाह कमजोर भएको, रेमिट्यान्स उच्च भए पनि त्यसको प्रभावकारी प्रयोग नभएको, तथा मुलुकको समग्र आर्थिक संरचना समस्याग्रस्त भएको भन्दै गम्भीर सुधारको माग गरिएको छ। शिक्षा प्रणाली तहसनहस भएको उल्लेख गर्दै विद्यालय शिक्षा ऐन तुरुन्त पारित गर्न र शिक्षालाई रोजगारमूलक बनाउन आह्वान गरिएको छ।

बैठकले परम्परागत कृषिमा आश्रित जनशक्तिलाई आधुनिक कृषि प्रणालीमा रूपान्तरण गर्न, युवा पलायन कम गर्न र विकास खर्चमा पारदर्शिता ल्याउन ध्यान दिन सरकारलाई सुझाव दिएको छ। त्यसैगरी मिटरब्याज, लघुवित्त र सहकारी पीडितको समस्या समाधानमा सरकार उदासीन रहेको भन्दै तत्काल कदम चाल्न आग्रह गरिएको छ।

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्न, मल अभाव हटाउन, जलवायु र प्राकृतिक प्रकोपको जोखिम न्यूनीकरणमा काम गर्न, संक्रमणकालीन न्यायलाई निष्पक्ष रूपमा टुंग्याउन, सन्तुलित परराष्ट्र नीति कार्यान्वयन गर्न र अन्तर्राष्ट्रिय विवाद समाधानमा नेपालले शान्तिपूर्ण भूमिका खेल्नुपर्ने भनिएको छ। बैठकले समकालीन भ्रष्ट राजनीतिक शक्तिहरूबाट समाधान सम्भव नभएको भन्दै नयाँ वैकल्पिक राजनीतिक शक्तिहरूबीच ध्रुवीकरण र सहकार्य आवश्यक रहेको बताउँदै, समाजवादी, लोकतान्त्रिक शक्तिहरूलाई एकजुट भई अग्रगामी विकल्प निर्माणमा लाग्न आह्वान गरेको छ।

प्रतिक्रिया दिनुहोस्