काठमाडौं — देशभर मनसुनी वायु सक्रिय हुँदै गएसँगै विभिन्न प्रदेशमा वर्षाको सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही भागमा मनसुनी वायुको प्रभाव रहेको छ भने पश्चिम नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव देखिएको छ। यसको प्रभावस्वरूप अहिले देशभर आंशिकदेखि सामान्य बदली छ। कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो पनि कोशी, बागमती, मधेस र अन्य पहाडी क्षेत्रका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै, कोशी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि महाशाखाले जनाएको छ। आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ। कोशी प्रदेशका थोरै स्थानहरूमा भने भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ। मौसम विभागले वर्षाका कारण जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ।














प्रतिक्रिया दिनुहोस्