काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से ७.१५ अंकले घटेर २,६५७.३२ विन्दुमा बन्द भएको छ। सूचकमा सामान्य गिरावट आए पनि कारोबार रकम उत्साहजनक देखिएको छ। आज बजारमा २४८ कम्पनीका ३११ स्क्रिपमा २ करोड ८६ लाख कित्ता सेयर किनबेच भई कुल १२ अर्ब ५१ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
नेप्से सूचकमा आवद्ध १३ उपसमूहहरूमध्ये ४ मा सुधार देखिएको छ। तीमध्ये होटल तथा पर्यटन समूह २.१४ प्रतिशतले वृद्धि भई सबैभन्दा अगाडि रह्यो। विपरीत, विकास बैंक र ट्रेडिङ समूहमा भने १ प्रतिशतभन्दा बढीको गिरावट देखिएको छ। ठूला कम्पनीहरूलाई समेट्ने सेन्सेटिभ इन्डेक्समा पनि उल्लेखनीय गिरावट आएको छ। आजको कारोबारमा ९९ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १४९ कम्पनीको मूल्य घटेको छ।
प्योर इनर्जी ९.९९ प्रतिशतले मूल्यवृद्धिसहित सर्किट हिट भएर सबैभन्दा धेरै कमाउने कम्पनी बन्यो। उता गुराँस लघुवित्त ९.९० प्रतिशतले घट्दै अधिकतम घाटा व्यहोरेको कम्पनी रह्यो।कारोबार रकमका आधारमा नेपाल पुनर्बिमा कम्पनी १ अर्ब ८ करोड रुपैयाँभन्दा बढीको कारोबारसहित शीर्ष स्थानमा रहन सफल भयो।








प्रतिक्रिया दिनुहोस्