images
images

डेब्युमा नन्दन यादवको चमक, नेपालको नेदरल्यान्ड्समाथि दोस्रो जित

नेपालले स्कटल्यान्डमा जारी आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजको अन्तिम खेलमा नेदरल्यान्ड्सलाई १६ रनले पराजित गर्दै सफल समापन गरेको छ। डेब्यु खेलमै घातक बलिङ प्रदर्शन गरेका नन्दन यादव नेपालको जितमा निर्णायक बनिरहेका थिए।

यसअघि पहिलो खेलमा पनि नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले हराएको थियो। यससँगै डच टोलीमाथि नेपालले सिरिजको दोस्रो जित हात पार्‍यो। नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गर्दै ५० ओभरमा ९ विकेटको क्षतिमा २३६ रन बनायो। यो स्कोरमा १० रनको पेनाल्टी पनि समावेश छ, जुन ब्याटर बसिर अहमदले ३७औँ र ४०औँ ओभरमा पिचको मध्य भागमा दौडिएपछि लागेको थियो। त्यसअनुसार नेदरल्यान्ड्सले दोस्रो ओभरदेखि नै १० रनको एड्भान्टेजसहित रन चेज सुरु गरेको थियो।

नेपालका लागि आरिफ शेखले सबैभन्दा उत्कृष्ट ब्याटिङ गर्दै ८५ बलमा ७ चौका र २ छक्का प्रहारसहित ८४ रन बनाए। कप्तान रोहित पौडेल र भीम सार्कीले समान ३५ रन जोडे। ओपनर कुशल भुर्तेलले १८, दीपेन्द्र सिंह ऐरीले १६, बसिर अहमद र करण केसीले समान ११ रन बनाए। सन्दीप लामिछाने र अनिल शाहले २-२ रन बनाउँदा नन्दन यादव १० रनमा अविजित रहे।

बलिङतर्फ नेदरल्यान्ड्सका लागि माइकल लेविटले ३ विकेट लिए भने पाउल भान मेक्रेनले २ र आर्यन दत्तले १ विकेट लिए। २३७ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्स ४९.२ ओभरमा २२० रनमै समेटियो। वेस्ली वारेसीले ३६ रन बनाए भने कप्तान स्कट इडवार्डसले ३० रनमा ललित राजवंशीको बलमा बोल्ड आउट भए। ओपनर माइकल लेविट २७ रनमा सन्दीप लामिछानेको बलमा एलबीडब्लु भए। नोह कोइसले २२ रन बनाए र कुशल भुर्तेलको बलमा एलबीडब्लु भए।

खेलको अन्तिम ओभरमा नेदरल्यान्ड्सलाई जितका लागि १८ रन आवश्यक थियो। करण केसीले पहिलो बलमा १ रन दिएका थिए भने दोस्रो बलमै विकेट लिएर डच टोलीलाई अलआउट गरे। नेपालका लागि सन्दीप लामिछाने र नन्दन यादवले समान ३ विकेट लिए। नन्दनले ९ ओभरमा १ मेडन राख्दै ३९ रन खर्चेर ३ विकेट झारे। ललित राजवंशीले १ मेडनसहित २९ रन खर्चेर २ विकेट लिए। कुशल भुर्तेल र करण केसीले १–१ विकेट लिए। स्कटल्यान्ड भ्रमणको लिग–२ सिरिजमा नेपालले चारमध्ये तीन खेल जितेको हो। पहिलो खेलमा स्कटल्यान्डलाई १ विकेटले हराएपछि दोस्रो खेलमा त्यही टोलीसँग २ रनले पराजित भएको नेपालले नेदरल्यान्ड्सलाई भने दुबै खेलमा हराउँदै शृङ्खलामा सशक्त प्रदर्शन गर्न सफल भयो।

प्रतिक्रिया दिनुहोस्