२५ जेठ, काठमाडौं, आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्डसँगको खेलमा नेपाल २ रनले निकै रोमाञ्चक तर दुःखद हार बेहोर्न बाध्य भएको छ। ३२४ रनको विशाल लक्ष्य पछ्याउँदै नेपाल ५० ओभरमा ३२१ रनमै अलआउट भयो।
नेपालले सुरुवातमै ६ विकेट १८३ रनमै गुमाएको कठिन अवस्थाबाट दिपेन्द्रसिंह ऐरी र सोमपाल कामीले सातौं विकेटका लागि १०५ रनको साझेदारी गर्दै खेलमा पुनः प्रतिस्पर्धा दिलाए। तर, उनीहरू दुबै आउट भएपछि अन्तिम ओभरमा नेपाललाई जितका लागि ७ रन आवश्यक थियो।अन्तिम ओभरमा करण केसी क्याच आउट भए र ललित राजवंशी अन्तिम बलमा बोल्ड भएपछि नेपाल लक्ष्यभन्दा २ रनले पछि पर्यो।
नेपालका लागि भीम सार्कीले ७३ रन, सोमपाल कामीले ६७ रन र दिपेन्द्रसिंह ऐरीले ५६ रन बनाए। स्कटल्याण्डका लागि म्याकेन्जी जोन्सले ३ विकेट लिए भने शफिया शरिफ र माइकल लिस्कले २-२ विकेट लिए। यसअघि स्कटल्याण्डले कप्तान रिची बेरिङटनको शतक (१०२ रन) र माइकल लिस्कको धमाकेदार ९६ रनको मद्दतले ५० ओभरमा ६ विकेट गुमाउँदै ३२३ रन बनाएको थियो। यो स्कोर नेपालले एसोसियट राष्ट्रसँग खेलेका खेलहरूमध्ये सबैभन्दा ठूलो लक्ष्य हो।
बलिङतर्फ नेपालका लागि करण केसी र दिपेन्द्रसिंह ऐरीले २–२ विकेट लिए भने ललित राजवंशीले १ विकेट झारे। नेपालले यसअघि लिग–२ अन्तर्गत स्कटल्याण्ड र नेदरल्याण्ड्सलाई हराएको थियो। हालसम्म १५ खेलमा १० अंक जोडेको नेपाल लिग तालिकाको तल्लो स्थानमै छ, जबकि स्कटल्याण्ड १७ खेलबाट २२ अंकसहित शीर्ष चारको दौडमा अगाडि छ।
लिग–२ मा आठ एसोसियट राष्ट्रबीच प्रतिस्पर्धा भइरहेको छ र शीर्ष चार टोलीले सन् २०२७ को एकदिवसीय विश्वकप छनोटमा सिधै स्थान बनाउनेछन्।












प्रतिक्रिया दिनुहोस्