images
images

आरिफ चम्किए, नेपालले नेदरल्याण्ड्समाथि दर्ता गर्‍यो सानदार जित

नेदरल्याण्ड्सले दिएको २२५ रनको लक्ष्य नेपालले ४७.१ ओभरमै ५ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालको जितमा आरिफ शेखले ९९ बलमा ७ चौका र २ छक्का सहित ७८ रनको जीवन्त पारी खेले। यो उनको एकदिवसीय अन्तर्राष्ट्रिय करियरको अहिलेसम्मकै उच्च स्कोर हो। सुरुवाती चरणमा संयमित देखिएका आरिफले रोहित पौडेलसँग ५५ रनको साझेदारी र दिपेन्द्रसिंह ऐरीसँग ८९ रनको महत्त्वपूर्ण साझेदारी गर्दै टिमलाई जितको नजिक पुर्‍याए।

दिपेन्द्रसिंह ऐरी ३८ रनमा अविजित रहे भने गुल्शन झाले अन्तिम क्षणमा विजयी छक्का प्रहार गर्दै ११ रनमा नटआउट रहे। कुशल भुर्तेलले २५, कप्तान रोहित पौडेलले २३, आसिफ शेखले १९ र भीम सार्कीले ११ रन बनाए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्स ४९.१ ओभरमा २२५ रनमै अलआउट भएको थियो। नोआह क्रोएसले ४८, कप्तान स्कट एड्वार्ड्सले ४६, विक्रमजित सिंहले ३८ तथा रोलफ भान डर मर्वेले २१ रन बनाए। १६ रनमै २ विकेट गुमाएको नेदरल्याण्ड्सले सिंह र एड्वार्ड्सको ७२ रनको साझेदारीबाट पारी सम्हाल्ने प्रयास गरे। त्यसपछि क्रोएस र मर्वेबीचको अर्धशतकीय साझेदारीले टिमलाई प्रतिस्पर्धात्मक स्कोरसम्म पुर्‍यायो।नेपालका बलरहरूमध्ये सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गर्दै ९.१ ओभरमा ४८ रन खर्चिएर ३ विकेट लिए। करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीले समान २-२ विकेट लिए। नेपालले यसअघि सोमबार स्कटल्याण्डलाई पराजित गरेको थियो। अब नेपालले आगामी खेल जुन ८ मा पुनः स्कटल्याण्डविरुद्ध खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्