images
images

कोहलीको नेतृत्वमा आरसीबीको पहिलो आईपीएल उपाधि

रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) ले १८ वर्ष लामो प्रतीक्षा समाप्त गर्दै पहिलो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जित्न सफल भएको छ। मंगलबार राति अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा सम्पन्न फाइनल खेलमा आरसीबीले पञ्जाब किंग्सलाई ६ रनले पराजित गर्दै ऐतिहासिक उपाधि आफ्नो नाममा लेखाएको हो।

टस हारेर पहिले ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १९० रन बनाएको थियो। कप्तान विराट कोहलीले जिम्मेवार प्रदर्शन गर्दै ३५ बलमा ४३ रन जोडे। मयंक अग्रवालले २४ रन बनाए भने रजत पाटिदारले २६, लियम लिभिंगस्टोनले २५, जितेश शर्माले २४ र रोमारियो शेफर्डले १७ रनको योगदान दिए। पञ्जाब किंग्सका लागि अर्शदीप सिंह र क्याली जेमिन्सनले उत्कृष्ट बलिङ गर्दै समान ३–३ विकेट लिए।

१९१ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको पञ्जाब किंग्स २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रनमै सीमित भयो। सशांका सिंहले विस्फोटक ब्याटिङ गर्दै ३० बलमा अविजित ६१ रन बनाए, जसमा ३ चौका र ६ छक्का समावेश थिए। अन्य ब्याट्सम्यानहरूमा जोस इंग्लिसले ३९, प्रभसिम्रन सिंहले २६ र प्रियन्सा आर्यले २४ रन बनाए। अन्तिम ओभरमा जितका लागि २२ रन आवश्यक हुँदा पनि पञ्जाबको टोली लक्ष्यमा पुग्न असफल भयो। आरसीबीको बलिङमा भुवनेश्वर कुमार र कुर्नाल पाण्ड्यले २–२ विकेट लिए। यश दयाल, जोश ह्याजलवुड र रोमारियो शेफर्डले समान १–१ विकेट लिएर टोलीलाई सन्तुलित बलिङ प्रदर्शन दिलाए। २००८ देखि आरसीबीसँग आबद्ध विराट कोहलीको लागि यो उपाधि भावुक उपलब्धि बनेको छ। खेलपछि उनी आँशुमा देखिए भने स्ट्यान्डमा रहेकी उनकी पत्नी अनुष्का शर्मा खुशीले उफ्रिएको दृश्य सामाजिक सञ्जालमा भाइरल भयो।

वर्षौँदेखि “कहिले जित्ला आरसीबी?” भनेर आलोचित हुँदै आएको टोलीले अन्ततः पहिलो पटक ट्रफी उचाल्दै इतिहास रचेको छ। आरसीबी फ्यानहरूका लागि यो खुसीको क्षणले लामो प्रतीक्षा सार्थक बनाएको छ।

प्रतिक्रिया दिनुहोस्