images
images

भिजिट भिसा विवादले संसद ठप्प, बैठक फेरि सारियो

काठमाडौँ, जेठ २१ — प्रतिनिधिसभाको आज मङ्गलबारका लागि निर्धारण गरिएको बैठक विपक्षी दलहरूको निरन्तर अवरोधका कारण सुरु हुन नसकी स्थगित गरिएको छ। संसद् सचिवालयका अनुसार बिहान ११ बजेका लागि तय गरिएको बैठक सुरु हुन नसकेपछि पहिलो चरणमा दिउँसो २ बजेसम्मका लागि सारिएको थियो। तर निर्धारित समयमा पनि बैठक सञ्चालनको अवस्था नबनेपछि अन्ततः बुधबार दिउँसो १ बजे बस्ने गरी पुनः स्थगित गरिएको हो।

संसद् बैठक अवरुद्ध हुनुको मूल कारण भनेको भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम मुछिएको आरोप हो। नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी) लगायतका प्रमुख विपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै आएका छन्। उनीहरूले मन्त्रीको राजीनामा नआएसम्म सदन सञ्चालन हुन नदिने अडान सार्वजनिक रूपमा दोहोर्‍याएका छन्।

विपक्षी दलहरूको उक्त अडानका कारण संसद् अवरुद्ध भइरहेको छ र बैठक बस्ने वातावरण बन्न सकेको छैन। सोही कारण संसद् सचिवालयले सूचना टाँस्दै पटक–पटक बैठकको समय सार्दै आएको छ। आज पनि बैठक स्थगनसम्बन्धी सूचना संसद् भवनमा टाँसिएको थियो।

यसबीच, सत्तापक्षले भने भिजिट भिसा प्रकरणमा सत्यतथ्य छानबिन हुनुपर्ने र त्यो निष्कर्ष नआउँदासम्म गृहमन्त्रीको राजीनामा आवश्यक नरहेको जिकिर गर्दै आएको छ। सत्ता र विपक्षी दलबीच कुनै सहमति नजुटेपछि संसद् पुनः अन्योलमा परेको छ।

राजनीतिक संवाद र सहमतिबिना संसद् पुनः सञ्चालनमा आउने सम्भावना नदेखिएको भन्दै केही सांसदहरूले चिन्ता व्यक्त गरेका छन्। लगातार स्थगित हुँदै आएको बैठकका कारण महत्वपूर्ण विधेयकहरू प्रभावित भइरहेका छन् भने सरकारका नीतिगत कार्यसम्पादनमा समेत असर परेको छ।

प्रतिक्रिया दिनुहोस्