images
images

नेपालको ऐतिहासिक जित

स्कटल्याण्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको पहिलो खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डमाथि १ विकेटको रोमाञ्चक जित हात पार्दै एकदिवसीय क्रिकेट इतिहासमै सबैभन्दा ठूलो लक्ष्य पछ्याउने कीर्तिमान बनाएको छ। डुन्डीमा सम्पन्न खेलमा टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले स्कटल्याण्डलाई ७ विकेटको क्षतिमा २९६ रनमा सीमित गर्‍यो। जवाफी ब्याटिङमा नेपालले ५० ओभरको अन्तिम बलमा ९ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो।

नेपालको जितमा करण केसी नायक बने। संकटपूर्ण अवस्थामा नेपाललाई अन्तिम ६ ओभरमा ६८ रन आवश्यक हुँदा ३ विकेट मात्र बाँकी थियो। त्यसैबेला करणले ४१ बलमा ७ चौका र ३ छक्कासहित अविजित ६५ रनको विस्फोटक इनिङ खेलेर नेपाललाई ऐतिहासिक जित दिलाए। उनी ‘म्यान अफ द म्याच’ पनि घोषित भए।

गुल्शन झाले ४५औं ओभरमा दुई छक्का प्रहार गरेर दबाब कम गरे तापनि ४६औं ओभरमा आउट भए। त्यसपछि करण र सन्दीप लामिछानेले संयमित साझेदारी गर्दै ४८औं ओभरमा १३ रन जोडे। ४९औं ओभरमा करणको आक्रमण जारी रहँदा १८ रन बटुलिए। अन्तिम ओभरमा नेपाललाई ७ रन आवश्यक थियो। पहिलो बलमै सन्दीप आउट भए पनि रिजन ढकालले एक रन लिएर करणलाई स्ट्राइक दिएका थिए। करणले दुई बलमा चार रन जोड्दै अन्तिम बलमा आवश्यक १ रन सहजै पूरा गरे।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ५३ रन, गुल्शन झाले ४२, भीम सार्कीले ४० र कप्तान रोहित पौडेलले ३७ रनको योगदान दिए। यस जितसँगै नेपालले एकदिवसीय क्रिकेटमा क्यानडाविरुद्धको २८७ रनको सफल लक्ष्य पछ्याउने कीर्तिमान तोड्दै २९७ रनको नयाँ कीर्तिमान राखेको छ।

बलिङतर्फ स्कटल्याण्डका ब्रान्डन म्याकमुलेनले ३ विकेट लिए भने ज्याक जार्भिस र माइकल लिस्कले २-२ विकेट लिएका थिए। जास्पर डेभिडसन र मार्क वाटले १-१ विकेट लिए। यसअघि स्कटल्याण्डका ओपनर चार्ली टियरले ८० रन, फिनले म्याकरिथले ५५, कप्तान रिची बेरिङटनले ४० र म्याथ्यु क्रसले ३९ रन बनाउँदै टिमलाई २९६ रनसम्म पुर्‍याएका थिए।

नेपालका लागि करण केसी, सोमपाल कामी र रिजन ढकालले समान २–२ विकेट लिए भने सन्दीप लामिछानेले १ विकेट लिए। यो जितसँगै नेपालले लिग २ मा १३ खेलबाट ८ अंक जोड्दै अघिल्लो आठौं स्थानबाट सातौं स्थानमा उक्लिएको छ। स्कटल्याण्ड भने १७ खेलमा २० अंकसहित चौथो स्थानमा यथावत् रहेको छ।

प्रतिक्रिया दिनुहोस्