म्याग्दीको बेनी नगरपालिका–१ लामगरामा रहेको युवा वर्ष आधारभूत विद्यालयमा चालू शैक्षिक सत्र २०८२ मा कक्षा २, ३ र ४ मा एकजना पनि विद्यार्थी छैनन्। विद्यालयका प्रधानाध्यापक खिमबहादुर चर्माकारका अनुसार बालकक्षामा चार र कक्षा १ मा तीन जना मात्र विद्यार्थी छन्। गत वर्ष कक्षा ४ मा तीन र २, ३ मा एक–एक जना विद्यार्थी थिए। तर, कक्षा ४ का विद्यार्थी माथिल्लो कक्षामा जान, र टाढाका टोलबाट आउने विद्यार्थीहरू अन्य विद्यालयतर्फ सराएपछि यी कक्षाहरूमा विद्यार्थीको संख्या शून्य भएको हो।
विद्यालयले स्थानीय टोल–सिम, लामगरा, आनन्दबगर र सारेमारेमा घरदैलो कार्यक्रममार्फत विद्यार्थी भर्ना अभियान चलाए पनि खासै प्रभाव देखिएको छैन। लामगरा र सिमजस्ता नजिकका बस्तीका अभिभावकले समेत बेनीका निजी तथा अन्य सामुदायिक विद्यालय रोज्न थालेपछि विद्यार्थी संख्यामा गिरावट आएको हो।
व्यवस्थापन समितिका अध्यक्ष भविराम थापाका अनुसार अङ्ग्रेजी माध्यम, पुस्तकालय, बालमैत्री शिक्षण विधि, विपन्न विद्यार्थीलाई पोसाक तथा शैक्षिक सामग्रीको व्यवस्था हुँदाहुँदै पनि अभिभावकको चासो नहुनु चिन्ताको विषय हो। विसं २०४१ मा स्थापना भएको विद्यालयमा एक समय १०० जना विद्यार्थी अध्ययनरत थिए। अहिले भने दुई स्थायी शिक्षक, एक निजी स्रोत शिक्षक र एक सहयोगी कर्मचारी कार्यरत छन्।
विद्यार्थी नहुँदा बेनी नगरपालिकाले अघिल्लो वर्ष नै एक कक्षा घटाएर कक्षा ४ सम्म सीमित बनाएको थियो। नगर प्रमुख सुरत केसीले विद्यार्थी संख्या कम भएका विद्यालयको अनुगमन गरी आवश्यक निर्णय लिइने बताए। साथै, विद्यार्थी नभएका कक्षा हटाउने र शिक्षकलाई अन्य विद्यालयमा व्यवस्थापन गर्ने नीति लागू भइरहेको जानकारी दिएका छन्।











प्रतिक्रिया दिनुहोस्