images
images

फेवाताल किनारको आवाज : “हामीलाई न्याय चाहियो”

फेवाताल भनेपछि पोखरा सम्झना आउँछ, र पोखरा भनेपछि नेपालको प्रमुख पर्यटकीय सहर। नेपालको पर्यटन प्रवर्धनमा पोखराले खेलेको भूमिका अतुलनीय छ। माछापुच्छ्रेको छायाँले सजिएको फेवाताल अहिले भने विवाद र संकटको केन्द्रमा परेको छ। ताल वरिपरिका बस्ती र संरचनाले फेवाताल अतिक्रमण गरेको आरोप लागिरहेका बेला स्थानीय बासिन्दा भने आफूहरूले ताललाई जोगाउँदै पर्यटन र आर्थिक गतिविधि विकास गरेको दाबी गर्छन्। उनीहरू अहिले आफ्नै अस्तित्व संकटमा परेको भन्दै संरक्षण र न्यायको माग गरिरहेका छन्।

आज फेवाताल विवाद र स्थानीय बासिन्दाको पीडाबारे कुराकानी गर्न हामीसँग हुनुहुन्छ पोखरा पर्यटन परिषद्का वरिष्ठ उपाध्यक्ष हरि भुजेल। यहाँलाई स्वागत छ।

हरि भुजेल: धन्यवाद।
एकदमै, हामीलाई त कहाँ पीडा कहाँ पोखाऊँ भन्ने पनि भएको थियो। हाम्रो वेदना कसले सुन्दिएला, आवाज विहीनको आवाज कसले बोल्दिएला भन्ने थियो। हजुरहरुले कमसेकम त्यो मनन गरेर बोलाइदिनु भयो, एक शब्द हजुरहरुका लाउला तर हाम्रोलाई त अमृत वाणी भएको भएर पनि म यहाँ आएको छु।

तर कस्तो विडम्बना छ भने नि, तपाईँसँग कुराकानी गर्न लागिराखेको छु, आजको दिनमा कुराकानी सुरुवात गर्दै गर्दा खेरि हाम्रो स्टुडियो नजिकै काठमाडौँको थापाथलीको सुकुम्बासी बस्ती, बागमती किनारको त्यो चैँ भत्काइएको छ। त्यहाँबाट सुकुम्बासीको व्यवस्थापन गर्ने भनेर उनीहरुलाई कहाँ-कहाँ व्यवस्थापन गरिँदै छ, बिस्तारै थाहा हुँदै जाला। सँगै भक्तपुरको मनोहरा क्षेत्रको सुकुम्बासी बस्ती अहिले भत्काइँदै छ।

तपाईँहरु पोखरा फेवाताल आसपासमा बसोबास गर्ने र त्यहाँ विभिन्न खालका व्यावसायिक गतिविधिमा आबद्ध हुनुहुन्छ, पर्यटकीय गतिविधिमा आबद्ध हुनुहुन्छ। यता डोजर चल्दै गर्दा उता तपाईँहरुको मनमा पनि डर पैदा भइराखेको छ?

हरि भुजेल: डर भन्दा पनि,न्याय भएको, संविधान भएको देशमा न्याय पाइन्छ भन्ने त हामीलाई लागेको छ। तर ढिलो गरि आएको न्याय पनि अन्याय नै हुन्छ भन्ने पनि एउटा कुरा ध्रुव सत्य हो। हामीलाई अहिले त्यही ढिलो गरि न्याय भएको हिसाबले अन्याय नै भएको भन्ने महसुस गरेका छौँ। र अहिले सुकुम्बासीको कुरा गरिराख्दा रैथानेको कुरा गर्दा सुकुम्बासी र रैथाने भन्ने आकाश-पातालकै फरक होला सायद। हाम्रो कन्सेप्टमा हेर्नुहुन्छ भने हामी त्यहाँका रैथाने हौँ। परापूर्वको काल देखि हामी त्यहाँ बसोबास गरेको एभिडेन्सहरु हामीसँग छ। अहिले पनि मसँग यो फाइल मैले लिएर आएको छु, यसैमा हजुरलाई दस्तावेज देखाउन सक्छु कि १९९१ जब नेपाल सरकारले नापीको सिस्टम ल्याउन खोज्यो, तत्कालीन समयमा मेरो जिजु हजुरबालाई दिएको प्रमाण पत्र मसँग अहिले यहाँ छ। बिक्रम संवत १९९१ सालको प्रमाण मसँग यहाँ छ। मसँग मात्र नभएर यथेष्ट धेरैको प्रमाणहरु मैले बोकेर ल्याएको छु।
र आज हजुरले बागमती छेउको सुकुम्बासीको कुरा गर्नुभयो, त्यही बागमतीमा हिजोको दिनमा सर्वोच्चले भनौँ न ४० मिटरको मापदण्डलाई २० मिटर त पुनरावलोकन गर्‍यो नि। हाम्रो पनि बारम्बार माग यही छ। आज हामीलाई बारम्बार प्रश्न सोधिने र राज्यबाट हामीलाई हेपिने, राज्यबाट हामीलाई लगाइने लाल्छना भनेकै सर्वोच्चले निर्णय गरिसक्यो, तिमीहरु हट्नुपर्छ। तर सर्वोच्चले निर्णय गरिराख्दा कुन दिन हामीलाई हाम्रो प्रपर्टीको बारेमा सोधियो? उहाँहरुले फेवाताललाई सरकारवादी मुद्दा बनाउनुभयो। पोखरा भन्दा बाहिर जिल्ला, ७७ जिल्लाको एउटा पूर्वी नेपालको एकजना व्यक्ति आएर चाहिँ मुद्दा सर्वोच्चमा हाल्नुभयो र सरकारवादी मुद्दा बनाएर महानगरलाई मुद्दा गर्नुभयो। हामी सरोकारवालासँग कुनै दिनमा पनि थाहा भएन। हाम्रो विषयमा मुद्दा परेछ भन्ने पनि हामीलाई थाहा नभइकन अचानक ६५ मिटरको मापदण्ड कायम गरियो भनेर सर्वोच्चबाट आइसकेपछि नै हामीले फेरि त्यो मुद्दाको विषयमा हामीले मुद्दा दायर गर्न आयौँ सर्वोच्चमा, तर हाम्रो मुद्दाहरु लिएन। यो भन्दा बढी पीडादायी कहाँ हुन सक्छ?

ठिक छ, अहिले एकछिन पछि हामी सर्वोच्चको त्यो ६५ मिटरको जुन मापदण्डको फैसला छ, त्यसमा कुराकानी गरौँला। तर त्यस भन्दा अगाडि तपाईँ कति वर्ष पुग्नुभयो अहिले?

हरि भुजेल: म अहिले ४३ वर्ष।

४३ वर्ष। तपाईँले बाल्यकाल देखि नै फेवाताललाई देख्न अथवा त्यो आफ्नो जग्गा, आफ्नो जमिन, त्यो वरिपरिको वातावरण देख्न, खेल्न, घुम्न सबै पाउनुभयो होला। अलि तपाईँको बाल्यकालमा फर्किऔँ न, खास कस्तो थियो त्यो फेवाताल वरिपरिको वातावरण?

हरि भुजेल: फेवातालको वरिपरिको वातावरण म चाहिँ बाल्यकालमा लेक साइडमा गौरीघाट भन्ने ठाउँको बासिन्दा हो। र जुन हिमा गृह र रत्न मन्दिर, राजाको दरबार तत्कालीन समयमा थियो, त्यसको बिचको बासिन्दा पनि हो। मेरो घरको अगाडि ठुलो हाइवे छ जुन १३ सालमा रत्न मन्दिर बन्न थालेपछि र १४, १५ साल, १८ सालमा रत्न मन्दिर बनिसकेपछि हाम्रै पुर्खाहरुको लालपुर्जा युक्त जग्गालाई सरकारले तत्कालीन समय बाटो बनाउनु पर्यो, छोड्दिनुस् भनेको हिसाबले हामीले बाटो छोडेर हामीले चाहिँ घर बनाएका थियौँ। त्यो बेलामा चाहिँ खर्का छोप्राहरु थिए। अहिले पनि हामीसित १३ सालका फोटाहरु पनि छन्।

जस्तो कि त्यतिबेला चाहिँ त्यो जग्गा अधिग्रहण गरिएको थियो, तपाईँहरुलाई केही मुआब्जा दिएको थियो कि सित्तैमा लिएको?

हरि भुजेल: सित्तैमा लिएको थियो। यो क्रम अस्ति भर्खरै ५५–५६ साल सम्म पनि चालु भए र ६९ साल सम्म पनि बाटो चक्लाउने नाममा अधिग्रहण गरेर हामीले राज्यलाई सहर्ष स्वीकारेर बेटरमेन्टको लागि, फर द बेटरमेन्ट हामी दिनै पर्छ भनेर कुनै मुआब्जा बिना दियौँ। त्यो भन्दा पहिला पनि हामीसित त अघि भनिसकेँ ९१ साल देखिको हाम्रो तिरो भरेको कागज छ। त्यसैको आधारमा हामीले ३१–३२ सालमा लालपुर्जा पायौँ। लालपुर्जामा भएको जग्गा पनि सरकारसित कुनै मुआब्जा नलिकन करिब दुई रोपनी जति जग्गा हाम्रो बाटोमै परिसकेको अवस्था छ। र अहिले हामी सरकारले दिएको बाटोको सेन्टरबाट छोडेर संरचनाहरु बनाएका छौँ। मापदण्ड लागू जुन सरकारले गरेको छ, त्यो छोडेर चाहिँ संरचना बनाएका छौँ। त्यसको सम्पन्न हामीसित छ, नक्सा पास हामीसित छ, सम्पूर्ण हामीसित छ। तर पनि आज अन्यायको बन्दी बनाएर यो ६५ मिटर हामीलाई लादिएको छ। यो विषयमा हामी अन्यायमा पयौँ भन्ने हाम्रो हो। तर अघि हजुरको प्रश्न चाहिँ थोरै बाल्यकाल तिर जान खोज्दा… बाटो जुन भनिएको थियो, यो बाटो भन्दा बाहिर पनि अव्यवस्थित रुपमा भिरहरु थिए। त्यहाँ जाँदा कि इभन तारबार पनि नलगाएको थियो, सिस्नु घारीहरु थियो, पातीहरु, झ्याङहरु, काँडाहरु, ऐँसेलुहरुको झ्याङहरु हुन्थ्यो। त्यो ठाउँलाई पनि हामीले नै स्थानीय सरकार, वडा सरकारसित तत्कालीन समयमा ४७–४८ साल तिर हुनुपर्छ, मेरो बुवाहरु र त्यो टोल विकास समितिकोहरु मिलेर राम्रो वालिङ गरेर अहिले रेलिङ लगाएर हेर्न मिल्ने ठाउँ हामीले बनाएका छौँ। र फेवातालकै कुरा गर्दा ताल चाहिँ जुन १८ सालमा बाँध बनाइएको भन्ने कुरा छ र ३२ सालमा बाँध भत्कियो। बाँध भत्किसकेपछि… अब मेरो जन्म त ३९ सालमा भयो, तर पनि बाल्यकालको कल्पनाहरु गर्दा ताल हिजोको ठाउँमा जहाँ थियो, आज पनि त्यही ठाउँमा देखेको छु मैले हाम्रो भेगति तिर। तर समग्र फेवातालकै भेग हेर्ने हो भने फेवातालको मुख्य स्रोत भनेको चङ्खपुर तिर, यो पामे तिर चाहिँ हर्पन खोला र हजुरको अँधेरी खोला भन्ने छ मुख्य स्रोत। नेपालको सबभन्दा धेरै पानी पर्ने ठाउँ लुम्लेको मुहान नै त्यही हो। त्यो खोलाबाट वर्षैनी आउने गेग्रानहरुले ताललाई पुरिराखेको छ। तालको गहिराइ प्लस तालको क्षेत्रफल पनि थोरै थोरै घटाउँदै गइराखेको छ। यो विषयमा सरकार अलिकति चिन्तित नभएर नितान्त त्यो भन्दा धेरै टाढा भएको लेक साइड तिरका बासिन्दाले ताल अतिक्रमण गरे, ताललाई बिगारे भन्ने तरिकाले जुन दोष लगाएको छ, त्यसमा अलिकति… अझ त्यो मात्र नभएर हामीलाई त अतिक्रमणकारी होइन, भूमाफिया भन्ने बिल्ला पनि भिराइएको छ। त्यसमा साह्रै चिन्तित चाहिँ हामी छौँ।

जस्तो यो ठ्याक्कै तपाईँले अतिक्रमणकारी, भूमाफियाको कुरा गर्नुभयो। काठमाडौँको सुकुम्बासी बस्तीको कुरा गर्दा खेरी चाहिँ तपाईँहरु त रैथाने हुनुभयो, सुकुम्बासी होइन। तपाईँहरु सँग लालपुर्जा छ, अहिलेको पनि होइन १९९१ सालको, त्यति बेला देखिकै छ। आज भन्दा झन्डै ९०–९२ वर्ष अगाडिको। तर काठमाडौँको कुरा गर्दा खेरी चाहिँ सुकुम्बासी बस्तीमा बस्ने तर विभिन्न ठाउँमा चाहिँ जग्गा टन्न प्रशस्त भएको, घरहरु भएको त्यस्तो मान्छेहरु भेटियो भनेर सरकारका मान्छेहरुले प्रमाणै सार्वजनिक गरे। अब तपाईँहरुको पनि त त्यहाँ बस्दै गर्दा खेरी पीडित भन्नुहुन्छ, प्रभावित भन्नुहुन्छ, हुन त जति नै धेरै जग्गा भए पनि प्रभावित त प्रभावित नै हो। यद्यपि, तपाईँको हकमा कुरा गर्‍यो भने देखि चाहिँ सरकारले ६५ मिटरको मापदण्ड यदि सर्वोच्चको आदेश अनुसार कार्यान्वयन गर्‍यो भने तपाईँसँग के रहन्छ बाँकी?

हरि भुजेल: के रहने नरहने होइन, त्यहाँ भएका धेरै जनताहरु सित कति पनि नरहने अवस्था छ र कतिसँग रहला पनि। तर त्यसको क्राइटेरिया के हो? हामी त यहाँ अहिले सरकार सँग मात्रै नभएर सर्वोच्चलाई नि गुमराहमा राखेर, सर्वोच्चलाई जे पाठ पढाइयो, सर्वोच्चमा जे रिपोर्ट दियो, त्यही रिपोर्ट नै सर्वोच्चबाट पुनर्पाठ भएर आएको हो। तर यसमा सरोकारवालासँग सर्वोच्चबाट कुनै पनि वकिल अथवा यहाँका विज्ञहरुलाई फेवाताल गएर त्यहाँको भौगोलिक बनावट देखि लिएर बस्तु स्थिति के हो बुझेर आउनुस् भनेर पठाएको भए सायद यो इसु पनि आउँथेन होला जस्तो लाग्छ। आज ६५ मिटर कुरा आइराखेको छ, मैले हजुरलाई पनि सोध्न चाहेँ, भोलि हजुरहरु पनि जानुहोला पोखरा— ६५ मिटर किन? यो १० मिटर नै किन भएन? ७० नै किन भएन? अथवा घटेर १०, १५, २०, २५, ३० किन भएन? ६५ नै किन राखियो भन्ने कुरा पनि जायज, यसमा चाहिँ एउटा कोइसनिङको विषय रहन्छ।

अब ६५ भन्यो, ५ मिटरबाट ६ फिट सेफ्टी ट्याङ्की हुन्छ के। ६ मिटर माथिका होटेलहरुबाट फेरि बगेर आउँदैन फेवातालमा? त्यसको दीर्घकालीन सोलुसन के हो? पूर्वाधार गुरुयोजना के हो भन्ने ठोस नभइकन, ठोस प्रमाणहरु, ठोस गुरुयोजना नभइकन आज लादिएको छ र यसमा हामीले गहिरो गरि स्टडी पनि गरेका छौँ। आज सम्म हामीलाई लागेको थियो— ७५ सालमा सर्वोच्चले निर्णय गर्‍यो र ८० सालमा पनि फेरि ८० साल सम्म आइसक्दा तत्कालीन स्थानीय नगरपालिका, स्थानीय सरकारले चाहिँ ३० मिटरमा मापदण्ड कायम गरेको थियो। फेरि ८० सालमा मुद्दा परेर फेरि ६५ मिटर नै भन्ने अवस्था चाहिँ आयो। तर कुनै पनि दिन, आजको दिन सम्म एउटा राजनीतिक मुद्दा बनाइएर आज त्यहाँका रैथाने, त्यहाँका स्थानीय बासिन्दा, त्यहाँका संघसंस्थाहरु कसै सित पनि समन्वय नगरिकन ल्याइएको छ। यसैले नै अलिकति प्रतिवाद भएको हो। आज कस्तो भने हाइवेमा बिच बाटोबाट दायाँ यति, बायाँ यति भन्ने एउटा सरकारको हुन्छ नि— के दायाँ चाहिँ ३० मिटर बायाँ २० मिटर त भन्दैन होला सेन्टरबाट? दायाँ ३० भनेपछि बायाँ ३० होला, दायाँ १० भनेपछि बायाँ नै १० होला। तर फेवाताल भनेको हाइवे होइन नि। फेवातालको त भू–बनोट हेर्नु पर्थ्यो नि। कहाँ निरबाट अतिक्रमण भएको छ, कहाँ निरबाट भू–क्षय भएको छ, कहाँ निर यसलाई चाहिँ प्रोटेक्सन गर्ने छ, कहाँ निर यसको ब्युटिफिकेसन बढेको छ भन्ने कुरा तो स्टडी गर्नु पर्थ्यो होला नि। आज पनि मैले मात्र होइन पोखरा महानगरका मेयरले पनि भन्नु भएको छ, आज मुख्यमन्त्री सापले पनि भन्नु भएको छ, त्यहाँका विज्ञहरु, राजनीतिक कर्मीहरु, मिडिया कर्मीहरुले नि भन्नु भएको छ कि बाराही घाट देखि पूर्व जुन गौरीघाट, जुन ड्याम साइड आदि इत्यादि ठाउँमा त बाटो भन्दा माथि मुआब्जै लाउन… मापदण्डै लाउनु पर्छ। त्यो भन्दा माथि सम्पन्न लिएर बनाएका घर जग्गाहरु छन्, परापूर्व काल देखि बसेका छन् भने राज्यको राजस्व पनि बच्ने, क्षतिपूर्ति दिँदा त लाग्छ नि, त्यो पनि बच्ने र ब्युटिफिकेसन अल्रेडी भइराखेको ठाउँमा यो नगर्दा चाहिँ राम्रो हुन्छ र स्थानीय रैथानीहरु पनि त्यहाँ संरक्षित भइराख्न सक्ने भन्ने कुरा चाहिँ आएको छ।

जस्तो कि बिचमा त्यहाँ चाहिँ सुकुम्बासी भनौँ अथवा भूमिहीन मान्छेहरु पनि त्यहाँ आइपुगेका थिए र बसोबास गरेका थिए, जसलाई बर्दिया सारिएको थियो केही घर परिवारलाई, केही फेरि फर्केर आए भन्ने एउटा तथ्य पनि छ। वास्तवमा त्यहाँ वरिपरि रैथानी भन्दा बाहेकका मान्छेहरु चाहिँ कसरी पुगे, त्यहाँ बस्नलाई कसरी पुगे?

हरि भुजेल: हो एक्ज्याक्टली। अब कस्तो हुँदो रहेछ भन्दा जहाँ पानी छ त्यहाँ सभ्यता छ। तर तालै तालको सहर भएर पनि पोखराको फेवाताल नै किन विकसित भयो अरु तालको तुलनामा भनेर म थोरै ७० को दशक तिर फर्केर जान चाहन्छु। जब १९५० मा मौरिस हर्जोगले अन्नपूर्ण हिमाल चढेर पहिलो ८ हजार मिटर अग्लो हिमाल चढेर पर्यटनको सुरुवात गर्नुभयो, पर्यटनको सुरुवात गरेपछि अन्नपूर्ण क्षेत्र एकदमै विश्व विख्यात रुपमा फेमस भइराख्दा पोखरा आएर— ‘गेटवे टु अन्नपूर्ण’ भन्छौँ हामीले अहिले— प्रवेश द्वार अन्नपूर्णको पोखरा आएर अन्नपूर्ण ट्रेकिङ जाँदा सबभन्दा छोटो बिहान उठेर हिँड्न मिल्ने भनेको लेक साइडमा बसेर थियो। तत्कालीन समयमा महेन्द्र पुल बस्न सक्थ्यो, तत्कालीन समय बेगनास तिर बस्न सक्थ्यो तर फेरि त्यहाँबाट हिँडेर आउँदा चाहिँ तत्कालीन गाडी गुड्ने अवस्था थिएन, राजमार्ग राम्रो बनिसकेको थिएन। हिँडेर आउँदा एकदम बढ्ता समय जाने भएको हिसाबले लेक साइडको वरिपरि आएर बस्ने, जहाँ अब हिजोको दिनमा हिप्पी टुरिजम पनि थियो, गोरा छालाहरु पानीको छाल सँगै रमाउन चाहने, त्यस्तो भएर त्यहाँ बस्थ्यो र त्यहाँबाट सिधै सराङकोट उक्लेर उनीहरु नौडाँडा हुँदै ट्रेकिङ सुरु गर्थ्यो। त्यहाँबाट सुरुवात भएको जुन लेक साइड छ, त्यहाँ हामी स्थानीयहरुले नै तत्कालीन समयमा जे जस्तो छ बनिबुत्तो, त्यही उम्रेका भनौँ न अन्नहरु देखि लिएर, अन्न बालीहरु देखि लिएर… हामीले घैया भन्थ्यौँ ‘ड्राइ राइस’ जुन पानी नचाहिने चामलहरु देखि लिएर तालमा भएका माछाहरु मारेर ल्याएर, घरमा फलेका सिमी सागहरु मेरो हजुरबा, बुवा, हजुरआमाले बेचेर त्यसरी सुरुवात गरेको पर्यटन क्षेत्र आज चाहिँ पर्यटनको राजधानी भएको अवस्था छ र जहाँ सम्भावना छ मान्छेहरु त्यही हाम फालेर आउने। हजुरले अघि भने जस्तै हामीलाई त्यहाँ अझै पनि कति ब्लेम लाइन्छ भने लेक साइडमा मात्रै केन्द्रित भयो तपाईँहरूको पर्यटन क्षेत्र भन्छ, तर लेक साइडमा मात्रै केन्द्रित भए पनि यहाँ ७७ जिल्लाकै व्यवसायीहरु आएर,व्यवसाय गर्नुभएको छ भने यो लेक साइड मात्रको व्यवसाय होइन नि। यो त ७७ वटा जिल्लाकालाई प्रत्यक्ष बेनिफिसियल गरेको छ भन्ने कुरा हो। र जुन अघि हजुरले बर्दियाको कुरा गर्नुभयो, आज फेवाताल पारिको रानीवन हजुरले देखिराख्नु भएको छ, तत्कालीन समयमा १३ सालमा महेन्द्र राजाले रत्न मन्दिर बनाउने कल्पना गर्नुभयो, तत्कालीन समयमा रत्न मन्दिरको प्राङ्गण पनि त्यही अहिले पनि हुनुहुन्छ गिरि परिवारहरुको नाममा थियो। गिरि परिवारलाई उहाँहरुले ल्यान्ड पुलिङ गरेर केही क्षतिपूर्ति दिएर त्यो ठाउँमा आफुहरु बास बस्नुभयो र त्यहाँ भन्दा पारि भएको रानीवनमा पनि धेरै घना बस्ती थियो। अहिले पनि त्यहाँ गयो भने भग्नावशेषहरु देख्न सकिन्छ, हाम्रै पुर्खाहरुको पनि छ। त्यो पुर्खाहरुको र हाम्रै घना बस्तीहरुमा पनि राज्यले मुआब्जा दिएर तत्कालीन समय हामीले सुन्दै छौ महेन्द्र राजाले चाहिँ बोर्डर-बोर्डरमा पहाडियाहरुलाई लगेर राख्नु भयो, यो छ त्यो छ भनेर। तत्कालीन समयमा यो व्यवसाय गरेर खाने कल्चर भन्दा नि कृषि गरेर खाने कल्चर थियो। यो पहाडी ठाउँमा बसेको भन्दा बरु त्यो ठाउँमा उब्जनी हुने ठाउँमा जान पाए राम्रो हुन्थ्यो भनेर धेरै जनताहरु त्यो ठाउँमा पनि गएका थिए बर्दियामा। र कति अहिले पछिल्लो समयमा पोखरा कहिले भने ६२–६३ को आन्दोलन पछि एकदमै धेरै, त्यो पछि चाहिँ संकटकाल सकियो र पर्यटनहरु एकदम फस्टाउँदै गएपछि धेरै भन्दा धेरै बाहिरी जिल्लाबाट पनि पर्यटन व्यवसायीहरु लेक साइडमा आएको अवस्था हो।

रैथाने र भूमिहीनहरु अथवा बाहिरबाट आएका मान्छेहरु छुट्याउनु पर्यो भने फेवातालको वरिपरिको त्यो बस्ती हेर्दा खेरी— तपाईँहरु जो त्यहीँ नै जन्मिनु भयो, तपाईँहरु मात्रै, तपाईँहरुको अघिल्लो पुस्ता, त्यो भन्दा अघिल्लो पुस्ता पनि त्यहीँ जन्मियो, त्यहीँ हुर्कियो, बढ्यो, खायो, खेल्यो, त्यसको वृद्धि विकासमा पनि एउटा महत्वपूर्ण भूमिका खेल्यो— तपाईँहरु त्यहीँ हुनुहुन्छ वर्षौँ देखि र अहिले नयाँ आएका मान्छेहरु, यो दुइटालाई छुट्याएर हेर्‍यो भने कति कति संख्यामा होला, के छ अवस्था खास?

हरि भुजेल: यसमा पनि अब हेर्‍यो भने त अहिले पनि रैथानेकै नै धेरै छ यहाँ। यस्ता बाहिरी भन्दा पनि तालको किनारको हिसाबले हेर्दा रैथानेहरुको नै धेरै पर्न जान्छ। हामी भुजेल समुदाय त्यहाँ पुरानो एउटा बासिन्दाहरु गौरीघाट क्षेत्रमा छौँ भने ताल पारि चाहिँ गुरुङ बस्ती छ, त्यो पनि धेरै पुरानो इतिहास छ। भने खपौदी साइड तिर चाहिँ जलारीहरुको समुदाय छ। त्यहाँ भूमण्डल राजा भूमण्डकै पालामा पनि मन्दिर बनाउने बेला खर्कको छानाको बाराही मन्दिर बनाउने बेला पहाडीहरुलाई चाहिँ पुजारीको जिम्मा दिएको थियो भन्ने एउटा इतिहासै छ। त्यहाँ पहाडीहरु पनि पुरानो बासिन्दा हुनुहुन्छ, त्यहाँ भट्टराईहरु पनि पुरानो बासिन्दा हुनुहुन्छ, त्यहाँ लामिछानेहरु हुनुहुन्छ, त्यहाँ थापाहरु हुनुहुन्छ। जे होस् सराङकोट तिर त्यहाँ फेवातालको १८ नम्बर वडामा पर्छ अहिले । सराङकोटमा भएका पहाडी थापाहरु, तिम्सिनाहरुको पनि गैरीखेत जस्तो भनौँ न तालमै नभएको तर तालको डिल-डिलमा राम्रो फार्मिङ हुने भएपछि त्यो ठाउँमा जग्गा हिजोकै दिनबाट थियो। र अहिले सुकुम्बासी कुरा गर्नु पर्दा लेक साइडमा ठ्याक्कै सुकुम्बासी भन्ने अवस्था छैन। तर एक ठाउँमा यो पुलिसको ब्यारेक जुन ६ नम्बर र १७ नम्बरको बोर्डरमा गाईघाट भन्ने ठाउँ छ, त्यो ठाउँमा सुकुम्बासी छ जुन अहिलेको केदारेश्वर मन्दिर पनि छ, अहिले पनि छ सुकुम्बासी त्यहाँ निर। त्यहाँ निर सरकारी जग्गाहरु ओगटेर बसेको, त्यो कुनै व्यक्तिको जग्गा छैन। त्यहाँ व्यक्तिको जग्गा हिजोको दिन राज्यले अधिग्रहण भनेर राज्यले मुआब्जा दिएर लिएको जग्गा चाहिँ हो। र त्यो ठाउँमा मात्रै सुकुम्बासी छ, नत्र चाहिँ फेवातालको वरिपरि अहिले पनि हजुर जानुभयो भने— आज म मिडियाको अगाडि बोलिराखेको छु— आज हजुर कुनै पनि ठाउँमा जानु भयो भने फेवाताल वरिपरि कतै पनि सुकुम्बासी भेट्नु हुँदैन।

६५ मिटरको मापदण्ड जुन छ, तालको वरिपरिको ६५ मिटर भित्रको चाहिँ संरचनाहरु, सरकारी होस् अथवा व्यक्तिको संरचनाहरु होस्, त्यो चाहिँ छोड्नु पर्ने, अब त्यो ताललाई नै दिनु पर्ने भनेर जसरी सर्वोच्चले आदेश दिएको छ। राज्यले त्यसको कार्यान्वयन गर्ने भनेर सुरुवात पनि गरेको छ। राति गएर डोजर चल्यो, त्यस पछाडि चाहिँ त्यहाँ के कसो गर्ने भनेर खलबलिएको मनस्थिति देखिन्छ, स्थानीय सरकारले पनि संघीय सरकारलाई सघायो कि भन्या जस्तो पनि देखिन्छ। यस्तो अवस्थामा कसरी चाहिँ तपाईँहरुले न्याय पाउने अथवा तपाईँहरुको माग के हो? त्यो ठाउँ छोड्दै नछोडी त्यहीँ बसिरहने, हाम्रो यो पुर्ख्यौली देखि गर्दै आएको गरि खाएको ठाउँ हामी छोड्दैनौँ भनेर बस्ने हो कि राज्यले विकल्प दियो भने विकल्प पनि हामी रोज्न तयार छौँ भन्ने हो तपाईँहरुको कुरा?

हरि भुजेल: यस्तो छ, मैले अघि नै पनि कुरा राखेको थिएँ— जुन राज्यमा एउटै राज्यमा दुइटा कानुन पक्कै पनि हुँदैन होला। किनभने पोखरा नेपालको राजधानी काठमाडौँ… काठमाडौँको सभ्यता बोकेको नदी बागमती। सभ्यता बोकेको नदी बागमतीको मापदण्ड राज्यले पुनरावलोकन गरेर ४० मिटरको २० मिटरमा लिएर आउन सक्छ भने अस्ति भर्खर १८ सालमा बाँधिएको छ, ३२ सालमा झरेको छ, ३६ सालमा बाँधिएको छ, ४१ सालमा भरिएर फेरि उद्घाटन गरिएको ताललाई एउटा त्यहाँका रैथाने नै विस्थापित गर्ने तरिकाले निर्णय आउँदा चाहिँ यो अलिकति अन्यायपूर्ण भयो कि? यो अर्थ कि म त्यहाँको रैथाने हुँ, बस्न पाउनुपर्छ भन्ने मात्रै मेरो अडान होइन। मैले लगानी गरेको छु, म बस्न पाउनुपर्छ भन्ने मेरो मात्रै अडान होइन। आज हजुरले हेर्नुस्, त्यो ठाउँमा गएर हेर्नुस्— फेवातालमा अहिले मात्रै हजुरको दिनहुँ त्यहाँ बोटिङ जाने बेला चैते हुरीले, चैत–वैशाखको हुरीले कति ढुङ्गा पल्टायो, कतिलाई उद्धार गरियो भन्ने छ। तर यो सशस्त्रहरु अथवा सुरक्षाकर्मीहरु आउनु भन्दा पहिलाका रक्षकहरु हामी थियौँ। आज त्यो फेवातालमा मानै डुब्न लागेछ, मान्छे डुबेको छ उद्धार गर्नु पर्यो भने पुलिसलाई फोन हान्यो भने अहिले पनि आउनुहुन्छ तर १० मिनेट पछि आउनु होला, धेरै चाँडो भनेको १० मिनेट, १५ मिनेट, २० मिनेट। मान्छे दुई मिनेटमा मरेको अवस्था छ डुबेपछि। तर त्यो ठाउँमा जत्रो ठुलै छाल आए पनि त्यो छाललाई संघर्ष गर्दै मान्छे उद्धार गर्ने बासिन्दा हामी हौँ त्यहाँका स्थानीय। किनकि अहिले पनि लेक साइडका धेरै बासिन्दाहरु बाहिरबाट आएर बस्नुभएको छ, उहाँलाई त अझै पनि तालमा गएर ढुङ्गा चढ्न डर लागिराखेको अवस्था छ किनभने उहाँहरु त अभ्यस्त हुनुहुन्न पानी सित।

बाहिरी जिल्लाबाट आउनुभएको छ, हैन?

हरि भुजेल: एक्ज्याक्टली। त्यो अवस्था छ। त्यो मात्र नभएर आज फेवातालको बिचमा बसेको बाराही मन्दिर जुन महेन्द्र सरकारले २०१८ सालमा बनाउन सुरु गर्नुभयो, त्यो भन्दा पहिला खर्कको छाना थियो। मेरो जिजु हजुरबाउले ढुङ्गा माटो बोकेर, मुछेर राज्य सरकार सित सहयोग गरेर, महेन्द्र सरकारलाई सहयोग गरेर बनाएको मन्दिर त्यहाँ छ। आज हिमा गृहको कुरा गर्नुस्, आज रत्न मन्दिरको कुरा गर्नुस्— मेरा पुर्खाहरुले माटो मुछेर बोकेर, ढुङ्गा ताल पारिबाट ढुङ्गा लिएर आएर बनाएको त्यो जीवन्त इतिहास छ। आज त्यस्तो सँग जोडिएको लेक साइडका रैथानेलाइ नै सुकुम्बासी बनाएर, हामीलाई नै विस्थापित गराएर, हामी भन्दा पछि आउने जनतालाई अथवा हामी भन्दा अरुलाई फाइदा हुने तरिकाले निर्णय आउँछ भने यो भन्दा ठुलो अन्याय कहाँ हुन सक्छ?

यो तपाईँले भनेको कुरा अझै बुझिएन, प्रस्ट सँग भन्दिनुस् न— जस्तो कि ६५ मिटरको मापदण्ड लागू गर्दै गर्दा खेरी तपाईँहरुलाई घाटा के हुने र पछि आउनेहरुलाई फाइदा चाहि के हुने ?

हरि भुजेल: यो शब्द एकदम राम्रो। बारम्बार उठेको यो ६५ मिटर किन भन्ने एउटा शब्द थियो नि? किन भन्दा अहिले पनि त्यहाँ हेर्न जानुस्, ६५ मिटर भन्दा पछाडि ६५ मिटर उठाउँदा धेरै जस्तो रैथानेहरु, गुरुङ बस्तीहरु, हामी भुजेल बस्तीहरु, खपौदीका जलारी बस्तीहरु सबै विस्थापित हुने अवस्था छ। मेरै भुजेल बस्ती गौरीघाटमा जो अहिले मैले तपाईँलाई ९१ सालको एभिडेन्स देखाएको छु, त्यो पनि म विस्थापित भएर हामी त्यहाँबाट पलायन हुनु पर्ने छ। हामी विकास विरोधी हैनौँ, तर आफै विस्थापित भई अरुकोलाई विकास चाहिन्छ भने त्यो विकास मलाई चाहिँदैन भन्ने लेभलको मान्छे हो म। म व्यवसाय गरेको छु होला, मलाई कतिले प्रश्न नि गरेका छन्— तपाईँहरुले त्यहाँ बसेर डलर कमाउने, तपाईँहरुले व्यवसाय गर्ने, बाटोमा घर लेक साइडमा हुने। के त्यहाँ लेक साइडमा घर हुनेहिजो भिर-पखेरा, भूत-प्रेत आदि इत्यादि लाग्छ भनेर हामी सानो बाल्यकाल छँदा बुढापाकाले भन्थे। तालमा गयो भने मान्छे डुब्थे। त्यस्तो बेला बसेका मेरा पुर्खाहरुलाई आज तालको डिलमा बस्नु के हामी अतिक्रमणकारी भइयो? हामीले रक्षा गरेर बसेको, अरुहरु त बिच-बिचमा थिए नि।

पहिला तपाईँहरुको घर थियो कि ताल थियो ?

हरि भुजेल: घर थियो कि ताल थियो त्यो एभिडेन्स फोटोमा नि छ। किम्बदन्तीमा पनि हजुरहरु जानुपर्छ। कहिले-कहिले हिजो हामीले मञ्जुश्रीले डाँडा काटेर यो काठमाडौँ भ्याली ताल थियो, मञ्जुश्रीले डाँडा काटेर यसलाई भ्याली बनाउनु भयो भने जस्तै फेवातालको पनि किम्बदन्ती के छ भने कुनै जमानामा एकजना जोगी आउनु भयो रे। जोगी आएर गाउँमा बास माग्नु भएछ, खाना माग्नु भएछ, कोही कसैले बास दिएनछन्, खाना पनि दिएनछन्। खाना र बास केही पनि नदिएपछि एउटा बुढी बज्यैले बास दिनु भएछ, खाना दिनु भएछ। र त्यहाँ आउने जोगीले के भन्नुहुन्छ— “राति ठुलो प्रलय आउँदै छ, तँ यहाँबाट सरेर जा, अरु चाहिँ यहाँ हुन्छन्।” भनेपछि उहाँले त्यो जोगीको कुरालाई विश्वास गरेर उहाँ जानुभयो। भोलिपल्ट ठुलो प्रलय आयो, सबै ताल भरियो, गाउँ सबै डुब्यो। त्यो त किम्बदन्ती अहिले पनि त्यहाँ शिलालेख लेखिएको छ बाराही मन्दिरको बोर्डमा लेखिएको छ कि त्यहाँबाट हटाउनु पर्यो भनेको हिजोको दिन त्यो त गाउँ थियो। तर हिजोको दिन गाउँलाई बारेर सिँचाइको लागि हुन्छ कि ब्युटिफिकेसनलाई हुन्छ कि कसरी हुन्छ, हिजोको सरकारले ताल बनायो। अहिले पनि म सित फोटो छ, जुन फेवा खोला भनेर ड्याम साइडमा खोला बगिराखेको तस्बिर मैले हजुरलाई दिन सक्छु। तस्बिरहरु हामीसित त यथेष्ट प्रमाणहरु छन्। कुन-कुन समयमा कसरी पहिला ताल बन्यो कि पहिला बस्ती बन्यो भन्दा नि ताल भन्दा पहिला बस्ती बनेको थियो। हिजोकै दिनमा म अहिले अघि हजुरले मलाई सोध्नु भएको थियो उमेर कति— ४३ वर्ष। ४३–४४ वर्ष पहिला मेरो आमालाई बिहे गर्ने बेला मात्रै होइन कि अस्ति भर्खरै २५–३० वर्ष पहिला पनि लेक साइडमा छोरी चेली दिन अरु जिल्लाका, अरु टोलका लेक साइड भनेको वडा नम्बर ६, अरु वडाका आमा बुवाहरु तर्सिनु हुन्थ्यो। किन तर्सिनु हुन्थ्यो— लेक साइडमा छोरी चेली दियो, घाँस-दाउरा गर्न ताल पारि जानापर्छ, ताल पारि गर्ने ढुङ्गा डुब्न मर्छन्। ‘बैदाम’ भन्ने नाम थियो। बैदाम भनेर लेक साइडलाई बैदाम भन्छ। बैदामको दुइटा अर्थ छ— धेरै बदाम मैले च्यानमा देखेको थिएँ, त्यहाँ धेरै त्यस्तो बदाम फल्थे, धेरै बदाम फल्ने भएर बैैदाम भन्यो कि, अथवा त्यो बेला औलो रोग लागेर यहाँ बस्ती नै नबसेको अवस्थामा सबै पाखा-पाखा भएर यसको दामै नभएको भएर यसको नाम ‘बेदाम’ रहेको भन्ने पनि हामीमा प्रचलनमा छ। आज त्यो बेदाम भएको जग्गालाई बहुमूल्य बनाएको कसले? हामीले होला नि त स्थानीयले होला नि त। हाम्रो सिको गर्दै अरुहरु आएर व्यापार गर्नु भयो होला नि त। अरुहरु पनि आएर व्यापार गरिसके पछि बल्ल पर्यटनको राजधानी भयो होला नि त, हैन? हामीलाई सिको गर्ने, हाम्रो सिको गरेर अरुले पनि गर्ने, आज पर्यटनको राजधानी हुने। राज्य सरकारले त पर्यटन राजधानी बनाउन पण्डितले बच्चालाई न्वारन गरिदिए जस्तो मात्रै हो के। त्यसको मतलब बच्चा जन्माएको त पण्डितले होइन नि, आमा बुवाले हो नि। बच्चा जन्माएको हामीले हो, फेवाताल बनाएको हामीले हो, लेक साइड बनाएको हामीले हो, पोखरा र पर्यटनको राजधानीका पूर्वाधारहरु सम्पूर्ण बनाएको हामीले हो। राज्यले त सिर्फ नामकरण गरिदिएको जस्तो।

तपाईँहरुको भनाइ, सरकारले खोजी नीति यदि गर्यो भने सबै कुराको गर्नु पर्यो हैन? विगतमा के थियो, फेवाताल कस्तो थियो, त्यहाँ वरिपरिका मान्छेहरु कहिले देखि बस्दै आए, त्यसको इतिहास देखि लिएर त्यसको प्राविधिक पक्ष सबै कुरा खोजी नीति गरेर ६५ मिटरको मापदण्ड जुन अहिले यस अगाडि भनिएको छ, त्यसलाई घटाउने हो, बढाउनु पर्ने हो भने बढाउनु पनि पर्न सक्छ, त्यो गर्नु पर्यो भन्ने तपाईँहरुको कुरा?

हरि भुजेल: एकदमै जायज कुरा। यो कुरा मैले यही भन्न खोजेको। अहिले जुन सरकार आएको छ, अब यो अहिले सरकार बहुमतको सरकार पनि छ र हाम्रो प्रधानमन्त्री बालेनउहाँ स्वयम् इन्जिनियर पनि हुनुहुन्छ कुनै फिल्डको इन्जिनियर होला, तर जुनै इन्जिनियर हो भने डिग्री र नापतौल नाप्ने कुरा त सबैकोमा आइहाल्छ हैन। हिजोको सरकारले गरेको सबै कुरा गलत पनि भन्दिन। तर यो अहिले जुन मापदण्डको इसु आइराखेको छ, हिजोको सरकारको पालामा आएको इसुहरु हो नि त। हिजोको सरकारको इन्ट्रेस्ट के थियो भन्ने कुरा पनि त उहाँहरुले बुझ्नुपर्छ होला। र अहिलेको सरकारले हिजोकै सरकारको ल्याएको निर्णय नै सबै साफ हो, हिजो नै गरेको सबै राम्रो हो भनेर जानुहुन्छ भने त मेरो भनाइ केही छैन। उहाँलाई पनि त्यही भित्र दाग लाउने अवस्था छ। होइन भने अहिलेको सरकारले पुनरावलोकन गरोस् भन्ने हाम्रो सम्पूर्ण फेवाताल बासीहरुको, जुन पीडित छौँ, हाम्रो सम्पूर्णको कुरो त्यही हो। हजुरले भने जस्तै ३० मिटर चाहिन्छ कि २० मिटर चाहिन्छ कि उल्टै ६५ को ठाउँमा ११० चाहिन्छ कि अहिलेको सरकारले निर्णय गरोस् न। तर वैज्ञानिक आधारले निर्णय गरोस् हिजोको तरिकाले हचुवा भरमा होइन। अहिले मसित एभिडेन्स छ— हिजो जुन व्यक्तिले २०५४ सालमा पिलर गाड्नु भएको थियो फेवातालमा, आज त्यो पिलर अहिलेको फुटट्रयाकबाट १० मिटर भन्दा भित्र उता पट्टि ताल तिर गएको छ। तर अस्ति ताल घटाउने बेला त्यो पिलर अहिले नि त्यहीँ छ, आज नि त्यहीँ छ । सरकारले गरेको हरेक फेवातालको मापदण्डहरुको निर्णयहरु अथवा सिमाङ्कनहरु हरेक चोटी फरक फरक आउने हो र? त्यो त एउटै आउन पर्ने होला। वाटर लेभल भनेको चाहिँ सधैँ एउटै हुन्छ होला नि। यो कुरो चाहिँ हामीले बिर्सिनु हुँदैन। हामीलाई एउटा भूमाफिया कसरी नि लगाइएको छ भन्दा १८ सालमा ठुलो बाँध थियो। १८ सालको बाँध ३२ सालमा भत्कियो। ३२ सालमा बाँध भत्केपछि पानीको सतह घट्यो। पानीको सतह घटेपछि सम्पूर्णले अतिक्रमण गरे भन्ने बिल्ला लगाइएको छ। होला, म तत्कालीन समय जन्मेको थिइनँ, म पनि मान्छु, गरे होलान्। पुर्खाहरुले खेती किसानी गर्ने जमाना थियो, खेती किसानीको लागि गरे होलान्। तर हामीले बिर्सिन केही हुँदैन— अझै पनि शिलालेख त्यहाँ छ। १८ सालमा बनेको बाँधको उचाई, चौडाई कति, ढोके… ११ ढोके भनेको छ, सबै त्यहाँ लेखिएको छ। १८ सालबाट भत्केपछि ३२ सालमा भत्किएपछि, १८ सालको बाँध ३६ सालमा जब शिलान्यास गरेर बनाइयो , त्यो पहिलाको बाँध झन् अग्लो बाँध बनाइएको छ। मजबुत बाँध, अग्लो बाँध बनाइएको छ। अग्लो बनाएपछि त हिजो मानौँ पाँच मिटर एउटा अग्लो बाँध थियो भने पछि आठ मिटर अग्लो बाँध बनायो भने त आठ मिटरले त झन् धेरै पानी ओगट्ला नि त। झन् पानी त झन् माथि माथि जाला नि यो। हिजो जनताले नजानेर, अन्जानमा अधिकरण गरेका कृषिको लागि अधिकरण गरेका जग्गा नि त सबै त पानी भित्र गए होलान् नि। तर तत्कालीन समयमा ४१ साल, ४२ सालको कुरा मैले अघि गरिराखेको ३६ साल पछि भनेपछि ३१ साल तिर बाँध भत्कियो, ३४, ३५, ३६ साल तिर कतिले दर्ता पनि गरे होलान्। त्यो गैरकानुनी, अहिले हामी पनि भन्छौँ, हामी इल्लिगल नै छैन पनि भन्दैनौँ। तत्कालीन छ भने राज्यले खोजी नीति गरोस्। छानबिन गरोस्। त्यति खेर मात्रै आएको तर त्यही जग्गा ९१–९२ सालबाटै कागजमा तिरो भरो गरेर आएको छ भने कसरी त्यो १८ साल भन्दा पहिलाका जग्गालाई हामीले अवैधानिक भन्न सकिन्छ? कसरी…

तपाईँहरुले लगातार तिरो तिरिरहनु भएको छ ?

हरि भुजेल: तिरिराखेको। कुनै पनि साल ब्रेक भएको  छैन !

अब अन्तिम तिर, तपाईँहरुले स्थानीय सरकारसँग पनि समन्वय गरिरहनु भएको होला हैन? मेयरसँग, त्यस्तै प्रदेश सरकारको मुख्यमन्त्रीसँग अथवा राजधानी त्यहीँ छ, अरु सांसदहरु देखि लिएर अरु मन्त्रीहरुसँग उहाँहरुसँग पनि समन्वय गरिरहनु भएको होला। र संघीय सरकारसँग अहिले तपाईँले नाम लिनु भएका प्रधानमन्त्री बालेन्द्र शाहसँग, उहाँका अरु मन्त्रीसँग जस्तो पर्यटन मन्त्रीको कुरा गर्ने, पोखराकै हुनुहुन्छ तपाईँहरुकै छिमेकी हैन? तपाईँहरुसँग चिनजान भएकै मान्छे, उठबस भएकै मान्छे। उहाँहरु सबै सँग समन्वय गरिरहनु भएको छ कि छैन, के छ? यदि समन्वय गरिरहनु भएको छ भने उहाँहरुको भनाइ चाहिँ के छ?

हरि भुजेल: एकदम राम्रो प्रश्न गर्दिनुभयो, धन्यवाद त्यसको लागि। हामी यहीँ निर पीडित छौँ। आज सम्म हामीले समन्वय गर्नलाई धेरै चोटी पहल गर्‍यौँ, धेरै धेरै चोटी पहल गर्‍यौँ। यो मिडियाबाट आज सबैले देख्नुहुन्छ, पोखराका बासिन्दाले नि सुन्नुहुन्छ— मुख्यमन्त्री ज्यूले पनि सुन्नु भएको छ होला, हाम्रो मेयर सापले नि सुन्नु भएको छ होला, संघीय मन्त्रीहरुले नि सुन्नु भएको छ होला— अहिलेकोले पनि, तत्कालीन समयकाले नि। आज सम्म एक जना, एक जना निकायबाट पनि हामी स्थानीयहरुसँग कहिले पनि समन्वयको लागि ढोका खोलिएन।

अन्तिम प्रश्न मेरो अब ६५ मिटरको मापदण्ड जुन यस अगाडि कायम भएको थियो, त्यो वैज्ञानिक पनि रहेछ, प्राविधिक हिसाबले पनि सही छ, अब तपाईँहरुले छोड्नै पर्छ कुनै पनि हालतमा, यस अगाडि अतिक्रमण गरेर बस्नु भएको रहेछ भन्ने यदि कुनै पनि हिसाबले प्रमाणित भयो र सरकारले त्यसैलाई कार्यान्वयन गर्ने भयो भने तपाईँहरु के गर्नुहुन्छ?

हरि भुजेल: राम्रो प्रश्न। “भयो भने के गर्ने?”। भएन भने के गर्ने भनेर प्रश्न हजुरले सरकारलाई नि सोध्दिनु पर्ला है। तर त्यो किन पक्कै पनि सोच्नु पर्छ— एउटा कुरा अस्ति भर्खरै पोखरामा महानगरपालिकाले एउटा सार्वजनिक सुनुवाइ कार्यक्रम राखेको थियो हाम्रो सिटी हलमा। त्यहाँ चाहिँ एकजना इन्जिनियर सरकारी कर्मचारी नै हुनुहुँदो रहेछ पर्यटन कार्यालयमा अहिले उहाँ आबद्ध हुनुहुँदो रहेछ। उहाँले एउटा कागजको बण्डल देखाएर भन्नुभएको थियो— “मैले २० वटा घरलाई सम्पन्न इजाजत पत्र बाँडेको छु। म यो पेसाले इन्जिनियर हो। मैले यो पत्र यसरी बाँडे, पत्र बाँडे भन्दा सम्पन्नता दिएँ कि मलाई गलत देखाउनुस्, होइन भने तपाईँले यो ६५ मिटर भित्र गाडेको पोल गाड्ने इन्जिनियर को छ? त्यो इन्जिनियर मलाई ल्याएर देखाउनुस्, म डिबेट गर्न तयार छु” भन्नुभएको थियो। यसमा मेयर सापले जवाफ दिन सक्नु भएन। र अर्को कुरो हजुरलाई अहिले पनि प्रस्ट पार्न चाहन्छु— पोल गाड्ने, सिमाङ्कन गर्ने, वाटर लेभल गर्ने त नापीकोले होला, मालपोतकोले होला। मेयर सापले आफुले मन लाग्दै गरेर सरकारी कर्मचारी नै, इन्जिनियरै भए पनि त्यसरी ल्याउन त होइन होला नि।

बर्खाको बेलामा ड्रोनबाट देखिएको पानीको हाइ फ्लो आएको बेलामा, बाढी आएको बेलामा एकदिन ठुलो-ठुलो बाढी आउँछ कहिलेकाहीँ त्यस्तो हुन्छ। त्यो बेलामा खिचिएको तस्बिरलाई नै यो फेवाताल सम्पूर्ण यही हो भन्ने तरिकाले गइयो भने कुनै दिन बागमतीमा नि बाढी आयो भने यो सम्पूर्ण बागमतीको जग्गा भन्ने? नारायणीमा, कोसीमा बाढी आएर बस्ती भित्र पयौँ भने यो सम्पूर्ण कोसीको भन्ने? त्यो होइन नि। हाइ फ्लो भनेको एउटा साइन्टिफिकल्ली के छ भन्दा बाँधमा एउटा लेभल सम्म चिन्ह लगाइएको हुन्छ— “यो चिन्ह सम्म भयो भने बाँधले पानीको घनत्व सहन सक्छ यो भन्दा बढ्ता गयो भने बस्ती भित्र नि छिर्छ र सँगसँगै बाँधले थेग्न सक्ने पावर पनि हुँदैन” भन्ने हो नि त। तर त्यो भन्दा माथि गएको लेभललाई अहिलेको सरकारले ‘हाइ फ्लो’ भन्दिएर कस्तो हास्यास्पद कुरा राख्नुभएको छ। र अर्को कुरो फेवातालमा जुन मूर्ति मन्दिरको बिचमा मूर्ति छ। यो कुरो पनि मान्छेले कहिले कहिले बुझ्दैन के। हामी त हरेक एङ्गलबाट कुरा गरिराखेका छौँ। फेवातालमा भएको मूर्ति अहिले पनि त्यो भूइँचालो पछि जीर्ण भएको मन्दिरलाई भत्काइएको छ तर मूर्ति जहाँ थियो अहिले पनि त्यहीँ छ। आज धेरैले भनिराख्नु हुन्छ मिडियाहरुमा कहिले कतै सुन्छु साथीभाइहरुले— एक मिटर दुई मिटर बाँध अझै अग्लो बनाइदियो भने यसले आफ्नो ठाउँ ओगट्छ। एक मिटर दुई मिटर किन १० मिटर लैजाऊँ न यदि ठुलै बनाउने हो भने, तर त्यसले कहाँ सम्म ओगट्छ, भू-बनोट कहाँ सम्म जान्छ? आधा लेक साइड सम्म ताल त थिएन होला नि त हिजोको दिन। एक मिटर मात्रै गर्नुस् त्यहाँ दुई मिटर नि पर्दैन— बाराही मन्दिरको मूर्ति पनि डुब्छ। हिजो १८ सालमा बाँध बनाउने बेलामा महेन्द्र सरकारले त त्यो मूर्तिलाई त नापेर बनाउनु भएको थियो होला नि त। अथवा त्यो भन्दा पहिला स्थापना भएको मूर्ति त एउटा लेभलमा छ होला नि त। त्यो बाँध एक-दुई दिन मात्रै पानी त्यही लेभलमा अहिले जुन सरकारले भनेको छ— एक-दुई मिटर हाइ फ्लोको लेभलको भनेको छ। हाइ फ्लो कस्तो हुन्छ भने दुई घण्टा, तीन घण्टा मात्र देखिन्छ। दिनभरि त्यहाँ बाँधले पनि के हुन्छ— बाँधमा कर्मचारी हुन्छ। कहिले कहिले एकदम राति ठुलो पानी आइराखेको बेलामा उहाँहरुले बाँधमा त्यो जान सक्नु हुँदैन र खोल्नु हुँदैन। बिहान ठुलो हुन्छ। बिहान ६–७ बजे बाँध खोलिदिएपछि त्यो १०–१२ बजे सम्म बाँध फेरि सम्म भएर आफ्नो ओरिजिनल ठाउँमा आइसकेको हुन्छ ताल। तर त्यो एक दिन मात्र राख्दिउँ… एउटा बाँधलाई एउटा उसको क्षमता भनौँ न, उसले थेग्न सक्ने क्षमतामा ह्रास आउँछ भने अर्को कुरो भनेको बाराही मन्दिरको मूर्ति पनि डुब्ने अवस्था हुन्छ के। के हिजोको दिनमा मूर्ति डुबाउने गरेर बाराही मन्दिर त बनेको थिएन होला नि त। यो पनि त एउटा पुफ (Proof) होला नि त पानीको लेभल कति थियो भन्ने कुरो हो। र अर्को कुरो भनेको फेवातालमा आज वर्षेनी दुई लाख घन मिटर सोइल इरोजन भएर फेवाताल पुरिराखेको छ। यो विषयमा सरकार चनाखो छैन। तर फेवाताल वरिपरि बस्तीबाट अतिक्रमण भयो, अतिक्रमण भयो भनेर अवैज्ञानिक तरिकाले प्रस्तुत भएको छ। हजुरले भने जस्तै उहाँहरुले प्रुफ गर्न सक्नुभयो ६५ मिटर मिचेकै हो भने नि हामी छोड्न तयार छौँ। म छोड्न तयार छु व्यक्तिगत रुपमा म आज तपाईँहरुको अगाडि भन्छु। तर मिचेको होइन, छैन भने नि उहाँहरुले के हामीलाई छुट दिन तयार हुनुहुन्छ? यो कुरो गम्भीर छ सोध्छु आज तपाईँहरुको टेलिभिजनबाट मैले यो कुरा राख्न चाहन्छु। म हरि भुजेल, म होटल रानीवन आर्केडको ओनर। मेरो बुवा घरमा हुनुहुन्छ, बुवाको पनि पर्मिसन नलिई मेरो अथोरिटीले म एउटा जिम्मेवार संस्थाको नि व्यक्ति भएर म भन्न चाहन्छु— यदि म अतिक्रमणकारी हो भने मलाई मुआब्जा बिना मलाई निकालियोस्, मुआब्जा नि चाहिन्न ल लालपुर्जा भए पनि। तर यदि अधिकरण होइन भने कहिले सम्म अनिर्णयको बन्दी बन्ने? मेरो घाँटीमा तरबार कहिले सम्म राख्ने? हिजो ७०–७१ सालमा मैले होटल बनाउन सुरु गरेँ, मेरो त १९७० सन् १९७० बाट सुरुवात भएको होटल हो। मैले संकटकालमा पनि होटल रेस्टुराहरु संचालन गर्दै गर्दै त्यत्रा धेरै कर्मचारीलाई रोजगारी दिएर आएँ। र ७०–७१ पछि अब देशमा चाहिँ शान्ति छायो सबै राम्रो भयो, अब अलि ठुलै लगानी गर्नु पर्यला पर्यटनमा भनेर लगानी गरेँ। बैंक वित्तीय संस्थाले मलाई २५ करोड रुपैयाँ लगानी गरिदियो। आज म त्यो बैंक वित्तीय संस्थाको ऋणी भएको छु। उहाँहरुले भनेको टाइममा, मैले बेलामा चाहिँ बसावाँ-ब्याज हाल्न सकेको अवस्था छैन। “थोरै भ्यालुएसन बढाऊँ न, रि-भ्यालुएसन गरिदिनुस्” भन्यो भने “तपाईँहरुको ६५ मिटर छ” भन्छ। अर्को बैंकमा कुरा गर्‍यो “तपाईँहरुको ६५ मिटर छ।” ए बाबा! पुर्खाले थातथलो छोडेर जान नपरे हुन्थ्यो। त्यही पनि अति नै भयो। “मर्नु भन्दा बहुलाउनु निको” बरु बेच्छु, सुनको मूल्य हो पित्तलमा बेच्छु भने नि म आज नपाएको अवस्था छ। मलाई जस्तो पिर कसलाई परेको होला? हामीलाई मात्र होइन, म भनेको फेरि पात्र हो। तर हामीलाई जस्तो पिर कसलाई परेको होला? यो विषयमा कहिले सम्म अनिर्णयको बन्दी बनाएर हामीलाई राख्ने? आज हजुरले एकदम राम्रो सोध्दिनुभयो। यदि ‍६५ मिटर भित्र म इलिगल छु भने मलाई चाहिएन मुआब्जा चाहिएन। तर यदि इलिगल छैन भने चलन चल्तीको मूल्यले मात्र होइन, मलाई त्यो ठाउँमा रहन पाउने अधिकार सुनिश्चित गरिदिनु पर्छ। मलाई चलन चल्तीको मूल्यले पनि पुग्दैन किनभने जुन हाम्रो क्षेत्रमा मात्रै २२ घर छ, त्यहाँ लगानी भएको पर्यटनको क्षेत्रमा लगानी भएको हिमा गृह र गौरीघाटको क्षेत्रमा मात्रै हो भने करिब १० अर्ब रुपैयाँ लगानी भएको छ। राज्यले भोलि हामीलाई द दुई-तीन अर्ब, चार अर्ब देला। के हामी सात पुस्ता सम्म ऋणी ऋणी ऋणी भएर बस्ने? यो विषयमा राज्य कहिल्यै नि गम्भीर भइदिन्न।

राज्य गम्भीर हुनै पर्छ। त्यहाँका स्थानीय रैथाने नागरिकहरुको पीर-मर्का बुझ्ने देखि लिएर खासमा इतिहास खोतल्ने र वास्तविकता के हो भनेर पत्ता लगाउने, अध्ययन गर्ने, अनुसन्धान गर्ने र अध्ययन अनुसन्धानको आधारमा मात्रै मापदण्ड कायम गर्ने र त्यस पछाडि के गर्ने भनेर निर्णय गर्ने कुरा राज्यले गर्नुपर्छ। यो प्रश्न हाम्रो पनि छ र राज्यलाई हामी सम्बन्धित निकायलाई पक्कै सोध्ने छौँ। यहाँ सम्म आइदिनुभयो कुराकानीको लागि यहाँलाई धेरै धेरै धन्यवाद।

हरि भुजेल: धन्यवाद।‍ यहाँ ल्याइदिनुभयो, कति नसुनिने कुराहरुलाई आज हजुरहरुको टेलिभिजनबाट, हजुरहरुको यो पोडकास्टबाट मैले ‍ हाम्रो धेरै श्रोताहरुलाई सुनाउन पाएँ। पक्कै पनि यसमा गहन भएर हजुरहरुले सुन्दिनु हुन्छ होला, बुझ्दिनु हुन्छ होला भनिराखेको छु। र सम्बन्धित निकायले पनि जो-जोले यो कार्यक्रम हेर्दिनु भएको छ, उहाँहरुले पनि अहिले मैले लास्टमा बोलेका केही शब्दहरु छन्, निकै सिरियस शब्द हुन्। तर म अहिले पनि कटिबद्ध छु। हजुरहरुले कृपया, कृपया सधैँ भरिको, सधैँ भरिको दासत्व हामीलाई यो अचानोको उसमा नराख्दिनु होला भन्दै म हजुरहरु सम्पूर्णलाई न्यायोचित नयाँ नेपालमा नयाँ सरकार आएको छ, पक्कै नै हामीले न्यायको आश गरेका छौँ। भन्दैँ यहाँहरु सम्पूर्णलाई धन्यवाद भन्न चाहन्छु।

पक्कै पनि न्याय पाइन्छ नै, न्याय पाइन्छ भनेरै हामी यो छलफल चलाइराखेका छौँ। यतिन्जेल सम्म हेरिदिनु भयो, सुनिदिनु भयो, यहाँहरुलाई धेरै धेरै धन्यवाद। अन्तिममा फेवाताल साँच्चिकै माछापुच्छ्रे मुस्कुराउने गरि बस्नुपर्छ। माछापुच्छ्रे मात्रै होइन फेवाताल वरिपरि बसेका रैथाने नागरिकहरु जसले तालको संरक्षण गरिरहेका छन्, ताल बनाउन, तालको विकास गर्न पुर्ख्यौली देखि रगत पसिना बगाएका छन्, उनीहरु पनि मुस्कुराउनु पर्छ। नमस्कार।

प्रतिक्रिया दिनुहोस्