काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूहरू दास नभएर आजको समयका स्पार्टाकस भएको टिप्पणी गरेका छन्। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेप्रति लक्षित गर्दै दिएको अभिव्यक्तिको जवाफ उनले सामाजिक सञ्जालमार्फत दिएका हुन्।
आइतबार सम्पन्न विशेष महाधिवेशनलाई सम्बोधन गर्दै गगन थापाले “कांग्रेस दास र लासहरूको पार्टी होइन, कांग्रेस जीवित मानिसहरूको पार्टी हो” भन्दै प्रश्नहरू जीवित रहेको बताएका थिए। थापाको यही अभिव्यक्तिलाई संकेत गर्दै महासचिव पोखरेलले फेसबुकमा प्रतिक्रिया जनाएका हुन्।
फेसबुकमा लेख्दै पोखरेलले देश संकटमा परेको बेला उत्सव मनाउन नसक्नेहरू कसैका लागि ‘दास’ जस्ता देखिन सक्ने भए पनि ती तथाकथित दासहरू नै आजका स्पार्टाकस हुन सक्ने बताएका छन्।
“हो, देश जलिरहेका बेला उत्सव मनाउन नसक्नेहरू कसैका लागि दास जस्ता लाग्न सक्छन्। तर ती तथाकथित दासहरू नै आजको समयका स्पार्टाकस पनि हुन सक्छन्,” उनले लेखेका छन्।
उनले ती स्पार्टाकसहरूले स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानको झण्डा बोकेर आधुनिक विश्वव्यवस्थाको नयाँ आधारशिला निर्माण गर्ने दाबी गरेका छन्।
पोखरेलले विध्वंस, अराजकता र आतंकका सामु झुक्नु कायरता भएको उल्लेख गर्दै त्यसविरुद्ध उभिएर जनताको मनोबल बढाउनु नै साहस भएको बताएका छन्। संविधान, लोकतन्त्र र राष्ट्रको भविष्य संकटमा परेको अवस्थामा उत्सव मनाउने कुरा असान्दर्भिक भएको उनको भनाइ छ।
गगन थापाको अभिव्यक्तिको प्रतिवाद गर्दै पोखरेलले ऐतिहासिक पात्र स्पार्टाकसको प्रसंग उठाएका हुन्। स्पार्टाकस रोमन साम्राज्यविरुद्ध विद्रोह गरेका दासहरूको नेतृत्वकर्ता मानिन्छन्, जसलाई स्वतन्त्रता र प्रतिरोधको प्रतीकका रूपमा हेरिन्छ।
वामपन्थी राजनीति र साहित्यमा ‘स्पार्टाकस’ पात्रलाई एक शक्तिशाली प्रतीक र प्रेरणाको स्रोतका रूपमा लिने गरिन्छ। उनी दमन, शोषण र अन्यायविरुद्ध उभिने विद्रोही चेतनाका आदर्श पात्र हुन्। त्यसैले संसारभरका वामपन्थी आन्दोलन र बहसमा स्पार्टाकसको नाम केवल ऐतिहासिक पात्रका रूपमा होइन, प्रतिरोधको प्रतीकका रूपमा स्मरण गरिन्छ।
स्पार्टाकस प्राचीन रोमन साम्राज्यका एक ग्ल्याडिएटर अर्थात् दास योद्धा थिए। ईसापूर्व ७३ मा उनले रोमन शासनको अत्याचारविरुद्ध दासहरूको विशाल विद्रोहको नेतृत्व गरे। प्रारम्भमा सानो समूहबाट सुरु भएको यो विद्रोह केही समयमै हजारौँ दास र उत्पीडित वर्गको आन्दोलनमा परिणत भयो। शक्तिशाली रोमन साम्राज्यसँग लड्दै उनले पटक–पटक रोमन सेनालाई चुनौती दिए र साम्राज्यको आधार नै हल्लाइदिए। यद्यपि अन्ततः यो विद्रोह दमन गरियो र स्पार्टाकस युद्धमै मारिएको मानिन्छ।
यद्यपि पराजयका बाबजुद स्पार्टाकस इतिहासमा अमर बने। दासत्वको साङ्लो तोडेर स्वतन्त्र जीवनको सपना देखाउने यो विद्रोहले मानव इतिहासमा वर्गसंघर्षको एउटा महत्वपूर्ण अध्याय कोरेको छ। यही कारणले दार्शनिक कार्ल मार्क्सले स्पार्टाकसलाई सम्पूर्ण प्राचीन इतिहासको सबैभन्दा उत्कृष्ट पात्र र वास्तविक सर्वहारा वर्गको प्रतिनिधि भनेर व्याख्या गरेका थिए।
कम्युनिस्ट र वामपन्थी चिन्तकहरूले स्पार्टाकसलाई इतिहासको पहिलो वर्गसंघर्षको नायकका रूपमा हेर्छन्। उनी व्यक्तिगत फाइदाका लागि होइन, दासत्वबाट मुक्त हुन र स्वतन्त्रता प्राप्त गर्न लडेका योद्धा थिए। त्यसैले उनको विद्रोहलाई संगठित उत्पीडित वर्गको चेतनाको प्रारम्भिक रूप मानिन्छ।
यही ऐतिहासिक पृष्ठभूमिमा प्रथम विश्वयुद्धताका रोजा लक्जेम्बर्ग र कार्ल लिब्कनेख्तले जर्मनीमा एक क्रान्तिकारी संगठन स्थापना गरे, जसको नाम नै ‘स्पार्टाकस लिग’ राखियो। उनीहरूले स्पार्टाकसको विद्रोहलाई प्रेरणाका रूपमा लिएर जर्मन सरकारविरुद्ध जनआन्दोलन र क्रान्तिको प्रयास गरेका थिए। पछि यही समूह जर्मन कम्युनिष्ट पार्टीमा परिणत भयो।
स्पार्टाकसको जीवन र विद्रोहले साहित्य र कलामा पनि गहिरो प्रभाव पारेको छ। वामपन्थी लेखकहरूले उनको जीवनमा आधारित थुप्रै उपन्यास, नाटक र कृतिहरू सिर्जना गरेका छन्। अमेरिकी लेखक हावर्ड फास्टले लेखेको ‘स्पार्टाकस’ उपन्यासले उनलाई विश्वव्यापी रूपमा अझ चिनायो।
यसरी स्पार्टाकस हार स्वीकार गर्न सक्ने तर अन्यायका सामु झुक्न नसक्ने पात्रका रूपमा स्थापित छन्। वामपन्थी विचारधारामा उनी अन्यायपूर्ण व्यवस्था विरुद्धको ‘अन्तिम लडाइँ’ को प्रतीक मानिन्छन्।
यही सन्दर्भलाई जोड्दै नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई जवाफ दिँदै आफूहरूलाई ‘स्पार्टाकस’को संज्ञा दिएका हुन्, जसले नेपाली राजनीतिमा यो ऐतिहासिक पात्र पुनः बहसको केन्द्रमा ल्याएको छ।








प्रतिक्रिया दिनुहोस्