काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपालको अर्थतन्त्रका मुख्य सूचकहरू सकारात्मक देखिएका छन्। तर समग्र माग र निजी लगानीको प्रवाह अपेक्षित रूपमा नबढेकाले अर्थतन्त्र अझै पूर्ण लयमा फर्किन सकेको छैन। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्थिक गतिविधि सुस्त भए पनि आन्तरिक सन्तुलन र बाह्य क्षेत्र बलियो देखिएको छ। उद्योग व्यवसायहरू पूर्ण क्षमतामा सञ्चालनमा नआउँदा बजारमा पर्याप्त माग सिर्जना हुन सकेको छैन।
बैंक तथा वित्तीय संस्थामा साढे चार खर्ब रुपैयाँभन्दा बढी तरलता रहँदा पनि कर्जा प्रवाह खासै बढेको छैन। निजी क्षेत्रतर्फ कर्जा प्रवाह ७.३ प्रतिशतले मात्रै बढेको छ, जुन अघिल्लो वर्षको ४.७ प्रतिशतभन्दा बढी भए पनि चालु वर्षको १२ प्रतिशत लक्ष्यभन्दा निकै तल हो। देशको बाह्य क्षेत्रमा भने उल्लेखनीय सुधार देखिएको छ। रेमिट्यान्स आप्रवाह १३ प्रतिशतले वृद्धि भई १३ खर्ब ५६ अर्ब रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो। शोधनान्तर स्थिति ४ खर्ब ३८ अर्ब रुपैयाँले सकारात्मक देखिएको छ भने विदेशी मुद्रा सञ्चिति १८ अर्ब ४० करोड अमेरिकी डलर पुगेको छ। यस सञ्चितिले १४.६ महिनासम्मको आयात धान्न सक्ने क्षमता दिएको राष्ट्र बैंकले जनाएको छ।
मूल्यवृद्धिको दर पनि सन्तुलित देखिएको छ। चालु आर्थिक वर्षको औसत मुद्रास्फीति ६.७४ प्रतिशत रहेको छ भने वैशाख महिनामा बिन्दुगत मुद्रास्फीति ५.८३ प्रतिशत मात्र छ। राष्ट्र बैंकले औपचारिक रूपमा यो दर २.७७ प्रतिशत रहेको जनाएको छ। अर्थविद् अनलराज भट्टराईले भने मुद्रास्फीति घट्नु सकारात्मक भए पनि बजारमा माग अभावकै कारण यस्तो अवस्था आएको बताएका छन्। उनका अनुसार अहिलेको अर्थतन्त्र साना व्यवसायी र नयाँ उद्यमीको पहुँच बाहिर रहेको छ।
व्यापार घाटा भने अझै गहिरिएको छ। आयात १३.१ प्रतिशतले बढेर १४ खर्ब ७४ अर्ब रुपैयाँ पुगेको छ, जबकि निर्यात ७२.७७ प्रतिशतले वृद्धि भए पनि कुल निर्यात रकम मात्र २ खर्ब १७ अर्ब रुपैयाँमा सीमित छ। व्यापार घाटा १२ खर्ब ५६ अर्ब रुपैयाँ नाघेको छ, जुन अघिल्लो वर्षको तुलनामा अझ उच्च हो। अर्थशास्त्रीहरूका अनुसार अर्थतन्त्र केही सकारात्मक दिशामा गइरहेजस्तो देखिए पनि यो सुधार सतही मात्र हो। उनीहरू सरकारलाई संरचनागत सुधार, नीति स्पष्टता र निजी लगानी आकर्षणतर्फ गम्भीर ध्यान दिनुपर्ने सुझाव दिन्छन्।








प्रतिक्रिया दिनुहोस्