काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले हालै सम्पन्न निर्वाचनको परिणामलाई अनपेक्षित, अस्वाभाविक र ‘जादुमय’ भएको टिप्पणी गरेका छन्।
बिहीबार नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहणपछि च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा एमालेबाट निर्वाचित सांसदहरूलाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।
‘भर्खरै निर्वाचन सकिएको छ, अहिले धेरै टिप्पणी गर्ने बेला भएको छैन,’ उनले भने, ‘तर, यो निर्वाचन अनपेक्षित, अस्वाभाविक, अपत्यारिलो र जादुमय देखिएको छ।’
अध्यक्ष ओलीले निर्वाचनका क्रममा एमालेविरुद्ध गलत प्रचार भएको आरोप लगाए। ‘हाम्रा उद्देश्य र “समृद्ध नेपाल, सुखी नेपाली” को लक्ष्यविरुद्ध कुप्रचार गरियो,’ उनले भने, ‘देशमा घृणाको राजनीति फैलाउने प्रयास भयो।’
घृणाको राजनीति गर्ने शक्तिहरूलाई विभिन्न पक्षबाट सहयोग प्राप्त भएको दाबी पनि उनले गरे।
एमाले सांसदहरूलाई सत्य र जनताको पक्षमा काम गर्न निर्देशन दिँदै उनले महाभारतको प्रसंग उल्लेख गरे। ‘कौरवको सेना ठूलो थियो, पाण्डवको सेना सानो थियो, तर अन्ततः जित सत्यकै भयो,’ उनले भने, ‘हामी देश, जनता, शान्ति, सुशासन र विकासका लागि काम गर्छौं।’









प्रतिक्रिया दिनुहोस्