काठमाडौं । काठमाडौं उपत्यका सहित मुलुकका विभिन्न स्थानमा शुक्रबार हुरीबताससहित असिना पानी परेको छ। मौसममा आएको बदलीसँगै देशका विभिन्न क्षेत्रमा मेघगर्जन, चट्याङ र वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभाग ले विशेषगरी तराईका केही जिल्लामा हुरीसहित असिना पानीका कारण मानवीय तथा भौतिक क्षति हुन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। हावाहुरीका कारण हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै अनावश्यक रूपमा घर बाहिर ननिस्कन र आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको हो।
विपद् व्यवस्थापनविद् धर्मराज उप्रेती ले मौसमी सूचनालाई बेवास्ता गर्दा नेपालमा प्राकृतिक विपदबाट हुने क्षति बढ्ने गरेको उल्लेख गर्दै सर्वसाधारणलाई सतर्क रहन सुझाव दिएका छन्। उनका अनुसार हावाहुरी र असिना परेको समयमा सवारीसाधन नचलाउन, रुख तथा बिजुलीका खम्बा नजिक नबस्न र सुरक्षित स्थानमा बस्नुपर्छ।
विभागका अनुसार शुक्रबार अपराह्नपछि कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा, गण्डकी, लुम्बिनी र कोशी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा तथा बाग्मती र मधेश प्रदेशका तराई क्षेत्रमा चट्याङ, असिना र हुरीसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
विभागकी प्रवक्ता विभूति पोखरेल का अनुसार विशेषगरी तराई क्षेत्रमा अपराह्नपछि २ देखि ३ घण्टासम्म हावाहुरी चल्न सक्ने भएकाले थप सतर्कता आवश्यक छ। हाल सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही जिल्लामा मेघगर्जनसहित हल्का वर्षा भइरहेको र यो प्रणाली उत्तर–पूर्वतर्फ सर्दै गइरहेको उनले जानकारी दिइन्।












प्रतिक्रिया दिनुहोस्