images
images

माइतीघरमा प्रदर्शनमा रक्षा बममाथि दुर्व्यवहार गरेको भन्दै नेपाल जेनजी फ्रन्टले गर्‍यो भर्त्सना

काठमाडौं । नेपाल जेनजी फ्रन्ट ले माइतीघरमा प्रदर्शनका क्रममा आफ्नी संयोजक रक्षा बम माथि भएको दुर्व्यवहारप्रति कडा आपत्ति जनाएको छ।

फ्रन्टले शुक्रबार विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण प्रदर्शनका क्रममा बममाथि भएको व्यवहारलाई अस्वीकार्य भन्दै घोर भर्त्सना गरेको हो। “संविधानले प्रत्येक नागरिकलाई बिना हातहतियार शान्तिपूर्वक भेला हुने तथा विचार र अभिव्यक्तिको स्वतन्त्रता सुनिश्चित गरेको छ,” विज्ञप्तिमा उल्लेख गर्दै फ्रन्टले संवैधानिक अधिकार प्रयोग गरिरहेकी आन्दोलनकारीमाथि भएको आक्रमण लोकतान्त्रिक मूल्यविपरीत रहेको जनाएको छ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको घटनाको छानबिनका लागि गौरीबहादुर कार्की नेतृत्वमा गठन गरिएको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजी अगुवाहरू विगत ६ दिनदेखि माइतीघर मण्डला मा प्रदर्शन गर्दै आएका छन्। सोही क्रममा केही घाइते आन्दोलनकारीहरूले बमविरुद्ध नाराबाजी गरेका थिए।

फ्रन्टले आन्दोलनभित्रकै द्वन्द्वले समग्र अभियान कमजोर बन्ने चेतावनी दिँदै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ। “घाइते, सहिद परिवार, आन्दोलनकारी र अगुवाहरू एउटै यात्राका साझेदार हुन्,” विज्ञप्तिमा भनिएको छ, “असहमति र पीडाका बाबजुद पनि समाधान राज्यसँग खोजिनुपर्छ, एकअर्कामाथि होइन।”

फ्रन्टले राज्यले अझैसम्म सत्य सार्वजनिक नगरेको आरोप लगाउँदै जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न पुनः माग गरेको छ। साथै, यस्ता घटनाले आन्दोलनलाई कमजोर बनाउने भन्दै आगामी दिनमा यस्ता गतिविधि नदोहर्याउन पनि आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्