images
images

घण्टीमा भोट हाल्नेहरूलाई कारबाही गर्ने तयारीमा प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ले फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा आफ्नै उम्मेदवारलाई भोट नदिई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ मतदान गर्ने नेता–कार्यकर्ताको खोजी थालेको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित जनवर्गीय संगठनका नेताहरूको बैठकलाई सम्बोधन गर्दै संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले केन्द्रीय सदस्यहरूसम्मले पार्टीलाई भोट नहालेको रिपोर्ट आएको बताएका हुन्।

उनका अनुसार प्रारम्भिक रिपोर्टमा करिब ५० प्रतिशत मत रास्वपाको चुनाव चिह्न ‘घण्टी’मा गएको देखिएको छ। उनले वास्तविक विवरण संकलन गर्न निर्देशन दिँदै भने, “को–कोले भोट हालेनन्, को–को घण्टीमा गए, त्यसको ठोस रिपोर्ट ल्याउनुस्, कारबाही गर्नैपर्छ।”

प्रचण्डले पार्टीभित्र अनुशासन कायम गर्न कारबाही प्रक्रिया केन्द्रीय सदस्यबाटै सुरु हुने चेतावनी दिएका छन्। “नत्र पार्टी बनाउन सकिँदैन, सबैभन्दा पहिले केन्द्रीय सदस्यबाटै कारबाही सुरु हुन्छ,” उनले स्पष्ट पारे।

उनका अनुसार यही प्रक्रियाबाट पार्टी पुनर्गठनको सुरुवात गरिनेछ। चुनावपछि पार्टीले तल्लो तहसम्म सर्कुलर जारी गर्दै समीक्षा प्रतिवेदन माग गरेको छ र हाल रिपोर्ट संकलन भइरहेको छ।

स्रोतका अनुसार अधिकांश प्रतिवेदनहरूमा आफ्नै संगठित नेता–कार्यकर्ताबाट अपेक्षित मत नपाउँदा पार्टी कमजोर प्रदर्शनमा सीमित भएको निष्कर्ष निकालिएको छ।

फागुन २१ को निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १२५ सिट जित्दा नेपाली कम्युनिस्ट पार्टी ८ सिटमा सीमित भएको थियो। प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भए पनि सहसंयोजक माधवकुमार नेपाल गृहजिल्ला रौतहटमै पराजित भएका थिए।

प्रतिक्रिया दिनुहोस्