काठमाडौं । गगन थापा ले आफ्नो राजीनामाको निर्णयलाई पराजयको संकेत नभई जिम्मेवारीबोधको अभिव्यक्ति भएको बताएका छन्।
उनले उपसभापति विश्वप्रकाश शर्मा लाई बुझाएको राजीनामा पत्रमा परिणामको जिम्मेवारी लिनु नेतृत्वको कर्तव्य भएको उल्लेख गरेका छन्। “मेरो यो निर्णय कुनै पराजित मानसिकताको उपज होइन, बरु लोकतान्त्रिक संस्कारमा परिणामको जिम्मेवारी लिनु नेतृत्वको कर्तव्य पनि हो भन्ने जिम्मेवारीबोधको अभिव्यक्ति हो,” उनले पत्रमा लेखेका छन्।
थापाले आफ्नो कार्यकालमा गरेका निर्णयहरू देश, लोकतन्त्र र पार्टीको हितमा केन्द्रित रहेको दाबी गरेका छन्। साथै, पदबाट राजीनामा दिए पनि पार्टी सुधार र पुनर्निर्माणको अभियानबाट आफू अलग नहुने स्पष्ट पारेका छन्।
“आज मैले सभापति पदबाट राजीनामा दिने निर्णय गरेको हुँ, तर पार्टी सुधार र पुनर्निर्माणको यात्राबाट अलग भएको छैन,” उनले भनेका छन्, “आगामी दिनमा देशका विभिन्न स्थानमा पुगेर नेता–कार्यकर्ता र आम नागरिकसँग संवाद गर्नेछु।”
नेपाली कांग्रेस भित्र पछिल्लो राजनीतिक घटनाक्रमका बीच आएको थापाको यो निर्णयले पार्टीभित्र नयाँ बहस र शक्ति सन्तुलनमा प्रभाव पार्ने विश्लेषण गरिएको छ।











प्रतिक्रिया दिनुहोस्