images
images

पार्टीको अभिमुखीकरण चलिरहँदा सरकार गठन प्रक्रियामा व्यस्त बालेन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सांसद अभिमुखीकरण कार्यक्रममा चलिरहँदा वरिष्ठ नेता तथा प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाह भने सरकार गठन प्रक्रियामा व्यस्त बनेका छन् । उनी आफ्नो मन्त्रिपरिषदमा कसलाई समेट्ने भन्ने विषयमा आन्तरिक छलफलमा केन्द्रित छन्।

रास्वपाको दुई दिने सांसद अभिमुखीकरण कार्यक्रम आज काठमाडौँमा सम्पन्न हुँदैछ। दोस्रो दिन सरकार सञ्चालनको प्रक्रिया, योजना तथा बजेट निर्माण, सुशासनको अवधारणा तथा यसको व्यवहारिक अभ्यास, पार्टी र सांसदबीचको सम्बन्ध तथा एजेण्डा निर्धारणलगायत विषयमा छलफल र प्रस्तुति भइरहेको छ। यी विषयहरू नयाँ सांसदहरूको क्षमता अभिवृद्धि र प्रभावकारी संसदीय भूमिकाका लागि महत्वपूर्ण मानिएका छन्।

बालेन्द्र शाह को नेतृत्वमा रास्वपाले झण्डै दुई तिहाइ बहुमतसहित सुदृढ सरकार गठन गर्ने तयारी गरिरहेको छ। सरकारको आकार घटाउने र विज्ञताका आधारमा मन्त्री नियुक्त गर्ने योजना बनाइएको छ। आगामी एक हप्ता–दस दिनभित्रै नयाँ सरकार गठन गर्ने लक्ष्य राखिएको छ।

सरकार गठनसम्बन्धी आन्तरिक छलफलका कारण बालेन्द्र शाह अभिमुखीकरण कार्यक्रममा सहभागी हुन नसकेका हुन्। कार्यक्रम आज समापन हुँदैछ।

आज दिउँसो हुने समापन सत्रमा रास्वपाका सभापति रवि लामिछाने ले पार्टीको रणनीति, दीर्घकालीन दृष्टिकोण र नीतिगत प्राथमिकताबारे सम्बोधन गर्ने कार्यक्रम छ। यसअघि हिजो सम्पन्न उद्घाटन सत्रमा पनि सभापति रवि लामिछाने र बालेन्द्र शाह दुवै अनुपस्थित रहेका थिए।

प्रतिक्रिया दिनुहोस्