काठमाडौँ महानगरपालिका र वीर अस्पताल बीच महिलामा देखिने स्तन तथा पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण र प्रारम्भिक उपचारका लागि सहकार्य भएको छ।
सोमबार भएको सम्झौतामा महानगरका स्वास्थ्य विभाग प्रमुख दीपककुमार केसी र अस्पतालका निर्देशक प्रा।डा। दिलीप शर्मा बीच हस्ताक्षर गरिएको हो। कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डङ्गोल तथा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं सहभागी थिए।
कार्यवाहक प्रमुख डङ्गोलले क्यान्सरका कारण महिलाको मृत्युदर चिन्ताजनक रहेको उल्लेख गर्दै समयमै परीक्षण गराउनु नै बच्ने मुख्य उपाय भएको बताइन्।
अस्पतालका निर्देशक शर्माले स्तन र पाठेघरको मुखको क्यान्सर रोकथामका लागि प्रारम्भिक चरणमै स्क्रिनिङ आवश्यक हुने बताए।
महानगरका अनुसार ३० देखि ६० वर्ष उमेर समूहका महिला, अघिल्लो वर्ष परीक्षणमा छुटेका तथा पोजेटिभ देखिएका महिलालाई लक्षित गरी सेवा प्रदान गरिनेछ।
क्यान्सर परीक्षण चैत १६ गतेदेखि सुरु हुने र दैनिक करिब १०० देखि १२० जनासम्मको परीक्षण गरिने जानकारी दिइएको छ।












प्रतिक्रिया दिनुहोस्