काठमाडौं । इरान र अमेरिका बीच बढ्दो सैन्य तनावका बीच अमेरिकाले आफ्ना नागरिकलाई मध्यपूर्वका १४ देश छाड्न निर्देशन दिएको छ। इरानले उक्त क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई लक्षित गर्दै आक्रमण गरेपछि सुरक्षा जोखिम बढेको भन्दै यस्तो अपिल गरिएको हो।
यसअघि बग्दादस्थित अमेरिकी दूतावास नजिक क्षेप्यास्त्र खसेको घटनापछि अमेरिकाले आफ्ना नागरिकलाई इराक तत्काल छाड्न आग्रह गरेको थियो। दूतावासले चेतावनी जारी गर्दै इराकमै बसिरहन खोज्ने अमेरिकी नागरिकलाई इरान समर्थित सशस्त्र मिलिसिया समूहबाट गम्भीर सुरक्षा खतरा रहेको भन्दै निर्णय पुनर्विचार गर्न अनुरोध गरेको छ।
समाचार एजेन्सी Reuters का अनुसार, अमेरिकाले शनिबार ओमानबाट गैर–आकस्मिक सरकारी कर्मचारी तथा उनीहरूका परिवारका सदस्यलाई पनि बाहिरिन आदेश दिएको जनाएको छ।
यसैबीच स्विट्जरल्यान्ड ले आफ्नो हवाई क्षेत्र प्रयोग गर्न दिने अमेरिकी सेनाका दुई अनुरोध अस्वीकार गरेको छ। स्विस सरकारले विज्ञप्ति जारी गर्दै देशको ‘तटस्थता कानुन’ का कारण यस्तो निर्णय गरिएको जनाएको हो।
विज्ञप्तिमा उक्त कानुनले द्वन्द्वमा संलग्न पक्षलाई सैन्य उद्देश्यका लागि हवाई क्षेत्र प्रयोग गर्न अनुमति नदिने व्यवस्था रहेको उल्लेख गरिएको छ।
यद्यपि, स्विस सरकारले अन्य तीन उडानलाई भने अनुमति दिएको छ। तीमध्ये एउटा उडान मर्मतसम्भारका लागि र दुईवटा उडान ढुवानीसम्बन्धी रहेको बताइएको छ।














प्रतिक्रिया दिनुहोस्