इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनेईको अमेरिका र इजरायलले गरेको आक्रमणका क्रममा मृत्यु भएको पुष्टि भएको छ । इरानको सेना इस्लामिक रिभोल्युसनरी गार्डस् कप्रस (आईआरजीसी) ले अमेरिकी हमलामा सर्वोच्च नेताको ‘सम्मानित शहादत’ भएको उल्लेख गरेको छ । साथै इरानको सेनाले जनतासँग राष्ट्रिय एकता बलियो देखाउन अपिल समेत गरेको छ । खामेनेईको मृत्युपछि इरानमा ४० दिनको राष्ट्रिय शोक घोषणा गरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तेहरानमाथि अमेरिकी-इजरेली हमलामा परी खामेनेई मारिएका सामाजिक सञ्जालमार्फत् घोषणा गरेका थिए।ट्रम्पले “इरानी जनता”, “अमेरिकी जनता” र “विश्वभरि धेरै मानिसका निम्ति” “न्याय” भएको भनी सामाजिक सञ्जालमा लेखेका छन्।
अमेरिका र इजरेलले गरेको हमलाको जबाफमा इरानले मध्यपूर्वभरि आक्रमण गरेको छ। दुबई, दोहा, बाहरेन र कुवेतमा अवस्थित अमेरिकी सैनिक अखडाहरूमा इरानले हमला गरेको विवरणहरूमा जनाइएको छ।
अमेरिका र इजरेलको हमलामा परी इरानमा दुई सय जनाभन्दा बढी व्यक्ति मारिएका रेडक्रसले जनाएको छ। इरानी सञ्चारमाध्यमहरूका अनुसार एउटा कन्या विद्यालयमाथि आक्रमण हुँदा कम्तीमा ८५ जना मारिएका छन्। दोहामा त्यहाँ अवस्थित त्यस क्षेत्रकै सबैभन्दा ठूलो अमेरिकी सैन्य अखडा रहेको अल उदेइद हवाई अखडालाई निशाना बनाएर विस्फोटन भएको थियो।
रोएटर्स समाचार संस्थाले इराकको एब्रिलस्थित अमेरिकी सैन्य अखडा नजिकै एउटा ड्रोनलाई अमेरिकी हवाई प्रतिरक्षा प्रणालीले खसालिदिएको जनाएको छ। इजरेलसँग सिमा जोडिएको जोर्डनले उस्का सशस्त्र सैन्यले दुईवटा बलिस्टिक क्षेप्यास्त्रलाई खसालीदिएका जनाएको छ।
तनाव चुलिएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा तीव्र उतारचढाव देखिएको छ। रुस र चीनले सम्भावित आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै अन्तर्राष्ट्रिय कानुनको पालना गर्न आग्रह गरेका छन् भने संयुक्त राष्ट्रसंघले तत्काल संयमता अपनाउन आह्वान गरेको छ।
मध्यपूर्वका विभिन्न देशहरूमा कार्यरत करिब १५ लाख नेपाली श्रमिकहरूको सुरक्षालाई लिएर काठमाडौंमा पनि चासो बढेको छ। परराष्ट्र मन्त्रालयले सम्बन्धित दूतावासहरूलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको स्रोतले जनाएको छ।
को थिए इरानका सर्वोच्च नेता अलि खामेनेई ?
काठमाडौं । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई सन् १९७९ को इस्लामिक क्रान्तिपछि इरानका दोस्रा सर्वोच्च नेता थिए। सन् १९८९ मा अयातोल्लाह Ruhollah Khomeini को निधनपछि उनी उक्त पदमा चयन भएका थिए र त्यसयता करिब तीन दशकभन्दा बढी समयसम्म इरानी सत्ताको केन्द्रमा रहे। सर्वोच्च नेताको हैसियतमा उनले देशको सुरक्षा नीति, विदेश नीति र प्रमुख राज्य पदहरूमा नियुक्तिमा निर्णायक प्रभाव राख्थे।
सन् १९३९ मा मश्हादमा जन्मिएका खामेनेई धार्मिक परिवारमा हुर्किएका थिए। बाल्यकालदेखि नै धार्मिक शिक्षामा संलग्न उनले इस्लामिक अध्ययनमा विशेष दक्षता हासिल गरेका थिए। इरानको राजतन्त्रविरुद्धको आन्दोलनमा सक्रिय भूमिका खेलेका कारण उनी छ पटक पक्राउ परेका थिए भने जेल र निर्वासनसमेत भोगेका थिए।
सन् १९८० मा तेहरानका लागि साप्ताहिक जुम्मा प्रार्थनाका नेतृत्वकर्ता नियुक्त भएका खामेनेई सन् १९८१ मा इरानको राष्ट्रपति निर्वाचित भएका थिए। राष्ट्रपति पदमा रहँदै गर्दा उनी इस्लामिक गणतन्त्रको शक्ति सन्तुलनभित्र प्रभावशाली नेताका रूपमा उदाएका थिए। सन् १९८९ मा धार्मिक अगुवाहरूले उनलाई सर्वोच्च नेताको जिम्मेवारी सुम्पिएका थिए।
व्यक्तिगत जीवनमा साधारण शैली अपनाउने नेताका रूपमा चिनिएका खामेनेईलाई बगैँचा र कविता मन पर्ने बताइन्छ। सन् १९८० को दशकमा भएको एक हत्या प्रयासपछि उनको दाहिने हातले पूर्ण रूपमा काम गर्न छाडेको थियो। उनका चार छोरा—मुस्तफा, मोज्तबा, मसूद र मेयसाम—र दुई छोरी—बुशरा र होदा—रहेका छन्। उनका छोरा मोज्तबालाई आन्तरिक शक्ति वृत्तमा प्रभावशाली व्यक्तिका रूपमा हेरिने गरिएको छ।













प्रतिक्रिया दिनुहोस्