काठमाडौँ । राष्ट्रिय महिला फुटबलर सावित्रा भण्डारी साम्बाले आफ्नो उपचारका लागि अभूतपूर्व आर्थिक सहयोग संकलन भएको जानकारी दिँदै अब थप सहयोग रोक्न आग्रह गरेकी छन्।
पछिल्लो २४ घण्टाभित्रै करिब डेढ करोड रुपैयाँ सहयोग संकलन भएको उनले जानकारी दिइन्। साम्बाले सामाजिक सञ्जालमार्फत आफ्ना समर्थक र सहयोगीहरूलाई धन्यवाद दिँदै अब दुवै खातामा सहयोग रकम पठाउन रोकिदिनु हुन अनुरोध गरेकी छन्।
उनी आफ्नो खुट्टामा लागेको चोटको उपचारका लागि सहयोग अपिल गरेकी थिइन्। नेपाली बैंक खातामा १ करोड रुपैयाँभन्दा बढी र विदेशी प्लेटफर्ममार्फत ४५ लाख नेपाली रुपैयाँ (५२ हजार न्युजिल्यान्ड डलर) जम्मा भएको छ। यसबाहेक विभिन्न संघ–संस्था र कतारमा रहेका नेपाली व्यक्तित्वहरूले नगद तथा अन्य सुविधाको सहयोग गर्ने वाचा गरेका छन्। यो संकलित रकमले कतारमा हुने शल्यक्रिया, पुनर्स्थापना, आवास र यातायातका लागि पर्याप्त हुने देखिएको छ।
साम्बा आबद्ध क्लब वेलिंगटन फिनिक्सले पनि शल्यक्रिया र पुनर्स्थापनाका लागि बिमा रकम निकासा गर्नुका साथै थप सहयोग गरेर उपचार प्रक्रियामा सहजीकरण गरिरहेको छ। साम्बाले चाँडै नै शल्यक्रियाको मिति तय हुने र प्रक्रिया अघि बढ्नेमा विश्वास व्यक्त गरेकी छन्।
चोटका कारण शारीरिक र मानसिक रूपमा थकित भए पनि साम्बाले समर्थकहरूको मायाले आफूलाई फेरि उठ्ने साहस दिएको बताइन्। उनले भनिन्, “खेलाडीका रूपमा मैले आजसम्म कमाएको सबैभन्दा ठूलो सम्पत्ति पैसा र उपाधि होइन, यो माया, भरोसा र समर्थन हो। यही ऊर्जा र विश्वासले म आफ्नो शल्यक्रिया र पुनर्स्थापनामा शत प्रतिशत मिहिनेत गर्नेछु।”
उनले अझ मजबुत भएर मैदान फर्कने र पुनः नेपालको जर्सी लगाएर देशका लागि खेल्ने दृढ संकल्प व्यक्त गरेकी छन्। साम्बाले भनिन् कि समर्थकहरूको माया र विश्वासको साँचो बदला आफ्नो सफल पुनरागमन नै हुनेछ।












प्रतिक्रिया दिनुहोस्