images
images

कप्तान साम्बाको उपचारमा ५ लाख रुपैयाँ दिने कांग्रेसको घोषणा

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय टिमकी फुटबल कप्तान सावित्री भण्डारी ‘साम्बा’को उपचारका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले मंगलबार सामाजिक सञ्जालमार्फत उक्त जानकारी गराएका हुन्। उनले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङलाई फोन गरी खेलाडी उपचार कोषमार्फत कांग्रेसका तर्फबाट ५ लाख रुपैयाँ उपलब्ध गराइने जानकारी गराएका छन्

कप्तान साम्बाले सोमबार मात्रै आफ्नो उपचारका लागि सहयोगको अपिल गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेकी थिइन्। घुँडाको चोटका कारण केही समयदेखि मैदान बाहिर रहेकी उनले उपचारमा ढिलाइ भइरहेको उल्लेख गरेकी थिइन्। उनको उक्त अपिल सार्वजनिक भएसँगै विभिन्न क्षेत्रबाट सहयोगका हात अघि बढिरहेका छन्।

यद्यपि एन्फा र सरकारी निकायले औपचारिक रूपमा ठोस पहल नगरेको भन्दै सामाजिक सञ्जालमा आलोचना र आक्रोश व्यक्त भइरहेको छ। खेल क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले राष्ट्रिय खेलाडीको उपचारमा सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने धारणा राखेका छन्।

प्रतिक्रिया दिनुहोस्