काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गतको वार्मअप खेलमा नेपालले क्यानडालाई ६ विकेटले पराजित गरेको छ।
भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियम (चेपक) मा बिहीबार सम्पन्न खेलमा क्यानडाले दिएको १६२ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो।
नेपालको जितमा ओपनर आशिफ शेख र सन्दीप जोराको उत्कृष्ट ब्याटिङ निर्णायक बन्यो। आशिफले २९ बलमा ६ चौका र ३ छक्कासहित ५८ रन जोड्दै अर्धशतकीय पारी खेलेका थिए। उनी रिटायर्ड आउट भए। उनलाई राम्रो साथ दिएका जोराले ३० बलमा ३ चौका र १ छक्कासहित ४४ रन बनाए। उनीहरूबीच ८४ रनको महत्वपूर्ण साझेदारी भएको थियो।
अर्का ओपनर कुशल भुर्तेल १२ रनमै आउट हुँदा गुल्शन झाले ३१ रनको योगदान दिए। लोकेश बमले ५ रन बनाए भने कप्तान दीपेन्द्रसिंह ऐरी ९ रनमै सीमित रहे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६१ रन बनाएको थियो। क्यानडाका लागि नवनित धालिवालले सर्वाधिक ४१ रन जोड्दा श्रेयास मोभा ३८ रनमा अविजित रहे।
नेपालका लागि कुशल भुर्तेल र सन्दीप लामिछानेले २–२ विकेट लिए भने नन्दन यादव र सोमपाल कामीले १–१ विकेट हात पारे। यद्यपि डेथ ओभरमा नेपालको बलिङ कमजोर देखिएको थियो। अन्तिम ओभरहरूमा क्यानडाले ५८ रन जोडेको थियो।
डेथ ओभरमा बलिङ कमजोरी नेपालका लागि लगातार देखिँदै आएको समस्या हो। यसअघि यूएईविरुद्धको पहिलो अभ्यास खेलमा पनि नेपालले डेथ ओभरमा कमजोर बलिङ गरे तापनि खेल जित्न सफल भएको थियो।














प्रतिक्रिया दिनुहोस्