काठमाडौं । नेपाल महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोट क्रिकेट प्रतियोगिताको समूहचरणबाटै बाहिरिएको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशालामा भएको जित्नै पर्ने खेलमा स्कटल्यान्डसँग ७२ रनले पराजित भएपछि नेपालको यात्रा समूहचरणमै समाप्त भएको हो ।
१४१ रनको लक्ष्य पछ्याएको नेपाल १३.५ ओभरमा ९ विकेट गुमाउँदै ६८ रनमै समेटियो । कप्तान इन्दु बर्मा ५ रन बनाउने क्रममा घाइते भई क्रिज छाडेपछि पुनः ब्याटिङमा फर्किन सकिनन् । नेपालका लागि रोमा थापाले ११ बलमा ११ रन बनाइन् भने बिन्दु रावलले १४ रन जोडिन् । अन्य ब्याटरहरू दोहोरो अंकमा पुग्न सकेनन् ।
स्कटल्यान्डका तर्फबाट अब्ताहा मक्सुदले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिइन् । क्याथ्रिन ब्रिसले २.५ ओभरमा १४ रन दिएर २ विकेट लिइन् भने राचेल स्लेटर र ओलिभिया बेलले समान १–१ विकेट हात पारिन् ।
यसअघि टस हारेर ब्याटिङ गरेको स्कटल्यान्ड २० ओभरमा १४० रनमा अलआउट भएको थियो । नेपालका लागि प्रतियोगितामा पहिलो खेल खेलेकी मनीषा उपाध्यायले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १७ रन खर्चेर ४ विकेट लिइन् । रुविना क्षेत्रीले ३ विकेट लिइन् ।
स्कटल्यान्डका प्रियान्ज चटर्जीले अविजित ४५ रन बनाइन् भने एलिसा लिस्टरले २२ रनको योगदान दिइन् ।
यससँगै समूह ‘बी’ बाट नेदरल्यान्ड्स र स्कटल्यान्ड ६–६ अंक तथा थाइल्यान्ड ४ अंकसहित सुपर सिक्समा प्रवेश गरेका छन् । नेपालले ४ खेलमध्ये केवल १ खेल मात्र जित्न सक्यो भने जिम्बाब्वे सबै खेलमा पराजित भयो ।












प्रतिक्रिया दिनुहोस्