काठमाडौँ – प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १ सय ६५ निर्वाचन क्षेत्रमा कुल ३ हजार ४ सय ८४ जनाको उम्मेदवारी दर्ता भएको छ। निर्वाचन आयोगका अनुसार ६८ राजनीतिक दलबाट २ हजार २ सय ९७ जना र स्वतन्त्रतर्फ १ हजार १ सय ८७ जनाले मनोनयन दर्ता गराएका हुन्। कूल उम्मेदवारमध्ये ३ हजार ८८ जना पुरुष, ३ सय ९५ जना महिला तथा अन्य समूहबाट एक जना महिला उम्मेदवार रहेका छन्।
मनोनयन दर्ता गरिएका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने आयोगले जनाएको छ। निर्वाचन आयोगले तय गरेको निर्वाचन कार्यक्रमअनुसार आज उजुरी दर्ता गरिनेछ भने उजुरीमाथि भोलि बेलुका ५ बजेसम्म जाँचबुझ गरी आवश्यक निर्णयसहित उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।
नाम फिर्ता र दाबी–विरोधको प्रक्रियापछि उम्मेदवारको सङ्ख्या केही घट्न सक्ने आयोगको भनाइ छ। आयोगका अनुसार माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन्। सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिनेछ भने दिउँसो ४ बजेदेखि बेलुका ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ।
हिजो देशभर उत्साहजनक र शान्तिपूर्ण रूपमा मनोनयन दर्ता सम्पन्न भएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिनुभयो। निर्वाचनका बाँकी कार्यक्रमहरूमा पनि राजनीतिक दल र सरोकारवालाको सहयोग रहने उहाँले विश्वास व्यक्त गर्नुभयो।












प्रतिक्रिया दिनुहोस्